अर्थमन्त्री पौडेलको आगमनले शेयर बजारमा रौनक, परिसूचक २३ सय पुग्दा ९ अर्बको कारोबार, नयाँ रेडर्क राख्ला ?

१ श्रावण २०८१, मंगलवार १५:०६

काठमाडौँ । शेयर बजारका लगानीकर्ताले रुचाएका ब्यक्ति अर्थमन्त्रालयको जिम्मेवारीमा आएसँगै मार्केटमा रौनक देखिएको छ । अर्थमन्त्री पौडेलले पदभार ग्रहण गर्दै शेयर बजारलाई देशको अर्थतन्त्रको ऐनको रुपमा हेर्ने बताएका छन् । उनले भने, ‘शेयर बजारलाई जुवाघरको रुपमा हेर्दा केहि समस्या देखिएको हो । अब भने पुँजी बजारलाई देशको अर्थतन्त्रको मेरुदण्ड रुपमा हेरिन्छ । सन्तुलित रुपमा विकास हुनेछ ।’

साउनमा लागु हुने गरी अधिकांश बैंकहरुले ब्याजदर घटाएका छन् । ब्याजदर ओरालो लाग्दा शेयर बजार माथि जान बल पुगेको छ । यसदिन कारोबार रकम भने निकै उच्च बन्न पुगेको छ । लामो समयपछि परिसूचक २३ सय बिन्दु माथि उक्लिएको छ ।

यता, अर्थतन्त्र समेत सकारात्मक बनी रहेको अवस्था छ । वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । ब्याजदर निरन्तर घटिरहेको छ । यसले समेत शेयर बजारलाई उचाईमा पुग्न बल पुराउने देखिन्छ । अब कर्जा प्रवाह बढाउने गरी नीति आउने धेरैको अनुमान छ । गभर्नर महाप्रसाद अधिकारीलाई एमाले निकट ब्यक्तिका रूपमा लिइन्छ । अबको नयाँ सत्ता समीकरणमा प्रधानमन्त्री र अर्थतन्त्र एमाले पाएको छ । आउने दिनहरूमा केन्द्रीय बैंक र अर्थ मन्त्रालयबीच अझै बढी समन्वय हुने र सोही अनुसार वित्त र मौद्रिक नीतिबीच तालमेल हुन सक्ने लगानीकर्ताको बुझाई छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७०.१८ अकंले बढेर २३१०.५९ बिन्दुमा कायम भएको छ । आज ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १३ करोड ८६ लाख २९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यसदिन १२ उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको २.७५ प्रतिशत, विकास बैंक समूहको ४.९४ प्रतिशत, फाइनान्स समूहको १.८५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज ९ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज २३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको मूल्य ओरालो लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*