वर्षभरिमा उठ्यो जम्मा १० खर्ब ३० अर्ब राजश्व, पुँजिगत खर्च दुई खर्ब पुगेन, अर्थतन्त्र झन् दयनीय बन्दै
काठमाडौं । सरकारले आव २०८०।०८१ का लागि तोकिएको कूल राजश्व संकलनको लक्ष्य जम्मा ७२.४३ प्रतिशत मात्रै पुरा गरेको छ । सो आधारमा गत आवमा झण्डै २८ प्रतिशत कम राजश्व उठेको छ । त्यस्तै, कूल तीन खर्ब दुुई अर्ब पुँजिगत खर्च गर्ने लक्ष्य राखेको सरकारले जम्मा एक खर्ब ९१ अर्ब रुपैयाँ मात्रै खर्च गर्न सफल भएको छ ।
तथ्याङकहरुले देशको आर्थिक अवस्था झन् झन् भयावह र डरलाग्दो अवस्थामा पुगेको देखिएको छ । राजश्व लक्ष्य पुरा गर्नै नसक्ने अवस्था एकातिर छ भने अर्कोतिर ऋणको ग्राफ बढिरहेकोछ । सरकारले गत आवमा करिब तीन खर्ब ऋण नै लिएको छ ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्क अनुसार हिजो असार ३१ गतेसम्म जम्मा १० खर्ब ३० अर्ब ३४ करोड ४३ लाख रुपैयाँ कूल राजश्व संकलन भएको छ । गत आवको यसै अवधीको तुलनामा राजश्व संकलन सामान्य बृद्धि भएको छ । अघिल्लो आवमा नौ खर्ब ५७ अर्ब कूल राजश्व संकलन भएको थियो । आव २०७९।०८० का लागि लक्ष्य लिइएको १२ खर्ब ९५ अर्ब कर राजश्व मध्ये जम्मा आठ खर्ब ६५ अर्ब मात्रै संकलन भएको थियो । त्यस्तै, गैर करबापत ९१ अर्ब रुपैयाँ संकलन भएको थियो ।
आव २०८०।०८१ का लागि कर राजश्वमा १३ खर्ब पाँच अर्ब राजश्व लक्ष्य निर्धारण गरेको थियो । तर सो लक्ष्यको ७१ प्रतिशत मात्रै पुरा भई जम्मा नौ खर्ब २७ अर्ब मात्रै राजश्व संकलन भएको छ । गैर कर बापत एक खर्ब तीन अर्ब रुपैयाँ संकलन भएको छ । सरकारले गत आवमा अनुदान र विदेशी सहायता लिने भनेको रकमको जम्मा ५ प्रतिशत मात्रै लक्ष्य पुरा भएको छ । ४९ अर्ब विदेशी अनुदान लिने लक्ष्य लिएको सरकारले जम्मा दुई अर्ब ७५ करोड मात्रै प्राप्त गरेको छ ।
गत आवका लागि कूल १७ खर्ब ५१ अर्बको बजेट बनाएको सरकारले राजश्वको घट्दोदरका कारण लक्ष्य पुरा हुन नसक्दा कूल खर्च १४ खर्ब ०८ अर्ब ९८ करोड ५४ लाख रुपैयाँ मात्रै गरेको छ । जुन कूल बजेटको ७१.७६ प्रतिशत मात्रै खर्च भएको छ । सो मध्ये चालु खर्च ८३.४३ प्रतिशत भएको छ । वर्षदिनमा सरकारी कोषबाट कर्मचारीलाई भुक्तानी तथा स्थानीय निकायमा जाने बजेटसहितको खर्च जम्मा नौ खर्ब ५२ रुपैयाँ रहेको छ । त्यस्तै, पुँजिगत खर्च ऋणको किस्ता र ब्याज समेत तिर्न दुई खर्ब ६४ अर्ब ६३ करोड १६ लाख रुपैयाँ खर्च गरेको छ ।
सरकारी कोषमा यस वर्ष पनि ठूलो रकम घाटा भएको छ । जसका कारण अर्थतन्त्र आगामी वर्ष पनि त्यति सजिलै सहज हुने अवस्था देखिदैन । झन् विष्णु पौडेलजस्तो अर्थतन्त्रका अप्राविधक अर्थमन्त्रीका कारण अर्थतन्त्र कुनै पनि चौपटमा पर्नसक्ने सम्भावना झनै बढेर गएको छ ।