सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गराउने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता

३१ असार २०८१, सोमबार १९:२८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि तात्कालीन र दीर्घकालीन कार्यक्रमहरु बनाइने बताएका छन्। स्वास्थ्य मन्त्रालयमा पदवहालीपछि उनले विज्ञहरुको सुझावका आधारमा योजना बनाएर काम गर्ने बताएका हुन्।

पदभार ग्रहणपछि मन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै क्यान्सर रोगबाट धेरै नेपाली जनता पीडित रहेको उल्लेख गर्दै यसको नियन्त्रण तथा रोकथामका पक्षमा जोड दिने बताए । उनले एकीकृत स्वास्थ्य प्रणालीलाई सुदृढ र व्यवस्थित बनाउँदै सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

उनले थपे, ’स्वास्थ्य क्षेत्रको राजनीतिक र सैद्धान्तिक पक्षका बारेमा प्रशस्त जानकारी नहुन सक्छ। काम गरिरहेका, काम गरिसकेका र विज्ञहरुसँग बसेर तात्कालीन कार्यक्रम र दीर्घकालीन कार्यक्रम बनाइनेछ। एक हप्ताभित्र तत्काल के गर्ने र दीर्घकालमा के गर्ने भन्ने सार्वजनिक गरिनेछ।’

उनले एक महिना, तीन महिना, ६ महिना र एक वर्षभित्र के गर्ने विषयमा वर्गीकरण गरिने उल्लेख गरे।उनले एक महिनाभित्र सरकारी अस्पतालमा लाइन लाग्ने अवस्थामा सुधार गर्ने पनि बताएका छन्।

उनले कुरा भन्दा पनि काम गर्न आफू आएको बताएका छन्। उनले भने, ’एक महिनाभित्र संघीय सरकार मातहतका सरकारी अस्पतालमा लाइन लाग्न नपर्ने अवस्था बनाउनेछौं। व्यवस्थित स्वास्थ्य सुविधा अघि बढाउनेछौं। धेरै ठूला काम कति गर्न सक्छौं। सान–साना कुराहरु अघि बढाउनेछौं।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*