एमालेले टुङ्ग्यायो आठ मन्त्रालय, अर्थमन्त्री बन्दै पौडेल, बर्तौला मन्त्री किन बनेनन् ?
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आज विहान लिइने शपथसँगै एमालेबाट कम्तीमा आठ जना मन्त्रीको नाम अन्तिम टुंगो लगाईएको छ । जसमा अर्थमन्त्रीका रुपमा विष्णु पौडेलको नाम समावेश छ । उता, अर्थमन्त्री बन्ने भनेर चर्चामा रहेर पनि महेश बर्तौला कुनै पनि मन्त्री नबन्ने भएका छन् ।
नेकपा एमाले स्रोतका अनुसार आजै शपथ लिइने सम्भावित मन्त्रीहरुको सूचिमा उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल, सूचना तथा सञ्चार प्रविधि मन्त्रीमा पृथ्वी सुब्बा गुरुङ, भौतिक पूर्वाधार मन्त्रीमा देवेन्द्र दाहाल, उद्योग मन्त्री दामोदर भण्डारी, बलराम अधिकारी कृषि तथा सहकारी, राज कुमार गुप्ता संघीय मामिला, शिक्षा मन्त्री विद्या भट्टराईको नाम समावेश छ ।
उल्लेखित नाम मध्ये देवेन्द्र दाहाल, राज कुमार गुप्ता र विद्या भट्टराई पहिलो पटक मन्त्री बन्न लागेका हुन् । विद्या भट्टराई स्व. रविन्द्र अधिकारीकी जीवन संगिनी हुन् । उनी लामो समय त्रिभुवन विश्व विद्यालयमा प्राध्यापन गर्ने गर्दथिन् ।
उता, अर्थमन्त्री बन्ने भनेर चर्चामा रहेका मकवानपुरका युवा नेता महेश बर्तौला यस पटकको मन्त्रिमण्डलमा सहभागी नहुने भएका छन् । हाल संसदको प्रमुख सचेतक रहेको र जनताको कुरा संसदमा दह्रोसँग उठाउँदै आएका उनले हाललाई मन्त्री भन्दा पनि संसदकै भूमिका आफ्ना लागि उपयुक्त रहेको बताउँदै मन्त्री बन्न इन्कार गरेका हुन् ।