प्रिमियममा आइपीओ जारी गर्ने तयारीमा रहेको अम्बे स्टिलको २ अर्ब ५३ करोडको व्यापार गायब
काठमाडौं । अम्बे स्टिल प्राइभेट लिमिटेडको व्यापार २३.२५ प्रतिशतले घटेको छ । सन् २०२३ मा अम्बे स्टिलले ८ अर्ब ३४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।एक वर्षको अवधिमा कम्पनीको २ अर्ब ५३ करोड १ लाख रुपैयाँको व्यापार गायब भएको हो ।
सन् २०२२ मा उद्योगले १० अर्ब ८७ करोड ८० लाख, सन् २०२१ मा ९ अर्ब २५ करोड ३० लाख रुपैयाँ, २०२० मा ६ अर्ब ३७ करोड ६० लाख र २०१९ मा ८ अर्ब ८१ करोड ८० लाख रुपैयाँको कारोबार गरेको उल्लेख छ । चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले ५ अर्ब ३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ ।
उद्योगले अम्बे ब्राण्डमा टीएमटी बार, जीआइ वायर र बाइन्डिङ वायर उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । उद्योगले बिलेट, पिग आइरन र स्पन्ज आइरन छिमेकी भारतबाट आयात गर्र्दै आएको छ । उद्योगको ८२ प्रतिशत आम्दानी टीएमटीबार बिक्रीबाट हुने गरेको छ । त्यसपछि जीआई वायर, ग्याबिन बक्स र ब्यान्डिङ वायरबाट आम्दानी भएको अम्बेले जनाएका छ । उद्योग आफैले बिलेट उत्पादन गर्दै आएको छ ।
नेपालको ठूलो मध्ये एक अम्बे स्टिल सन् २००९ मा स्थापना भएको हो । कारखाना लुम्बिनीको भैरहवामा छ । उद्योगमा शोभाकर न्यौपानेको ६०, रमेशकुमार अग्रवाल र सज्जन अग्रवालको २५ र बाँकी १५ प्रतिशत स्वामित्व पूर्णबहादुर पौडेलको छ ।
कम्पनी आइपीओ निष्कासन गर्ने तयारीमा छ । कम्पनीले प्रिमियम मूल्यमा आइपीओ जारी गर्नेका लागि धितोपत्र बोर्डमा आवेदन दिने तयारीमा रहेको छ ।