अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि गोली प्रहार, हत्या प्रयास असफल
काठमाडौं । विश्वकै सर्वाधिक शक्ति सम्पन्न राष्ट्र अमेरिकी राष्ट्रपतिका लागि आगामी निर्वाचनका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । अमेरिकी संघीय जाँच ब्यूरो एफबिआईले हत्या गर्ने उद्देश्यले पूर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार भएको पुष्टि गरेको छ ।
न्यूयोर्क टाईम्सका अनुसार पेन्सिलभानियामा आयोजित चुनावी र्यालीमा उनीमाथि गोली प्रहार भएको थियो । हजारौ समर्थकका बीचमा मञ्चमा उभिएर भाषण गरिरहेका ट्रम्पमाथि बन्दुकधारीले अन्धाधुन्द पाँच पटक गोली प्रहार गरेका थिए । गोली उनको टाउकोमा लागेको छ ।
पहिलो गोली लाग्ने वित्तिकै ट्रम्प भुईमा सुतेका कारण आक्रमणकारीले प्रहार गरेको थप गोली लाग्न पाएन । उनीमाथि पछाडिबाट गोली प्रहार गरिएको आशका गरिएको छ । मञ्चमा भाषण गरिरहेका बेला गोली लागेपछि टाउकोबाट बगेको रगत अगाडि मुखसम्म आईपुगेको थियो । लामो दुरीमा कतै लुकेर ट्रम्पमाथि गोली प्रहार भएको जनाइएको छ ।
रोचक कुरा के छ भने गोली लागेर रगताम्मे भइसकेका ट्रम्पलाई जब सुरक्षाकर्मीले बोकेर अस्पताल लैजान खोजेका थिए, तब मञ्च नजिकै उभिएर ‘वेट वेट अमेरिका’ भन्दै मुठ्ठी उठाएर दृढता व्यक्त गरेका थिए ।
अमेरिकामा बन्दुक राख्न पाउने खुकुलो कानुनका कारण वर्षेनी यस्ता दर्जनौं घटनाहरु हुने गरेका छन् । साथै बन्दुककै कारण अमेरिकामा बार्षिक सयौंको ज्यान जाने गरेको छ ।
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पमाथि गोेली प्रहार भएपछि सिंगो अमेरिकामा चुनावी बहस झनै तातो हुन पुगेको छ भने सुरक्षामाथि प्रश्न पनि उठेको छ ।