कुमारी बैंक र समता घरेलु लघुवित्तको १ लाख ५३ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेड र समता घरेलु लघुवित्तले संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ५३ हजार १२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन् । यी शेयरहरूमा सम्बन्धित संस्थापक विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन पाउनेछन् ।
सोमध्ये कुमारी बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ८८ हजार २०९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आवश्यक पर्ने कागजात सहित बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ । यस शेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।
त्यस्तै समता घरेलु लघुवित्तले संस्थापक शेयरधनीहरूको नाममा रहेको ६४ हजार ९१९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर खरीद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र आवश्यक पर्ने कागजात सहित कम्पनीको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।
साथै तोकिएको समयभित्र यी शेयरहरू खरीदका लागि सम्बन्धित संस्थाका संस्थापक शेयरधनीबाट आवेदन नपरेमा सर्वसाधारणमा बिक्री खुला गरिने कम्पनीहरूले जनाएका छन् ।