प्रिमियममा आइपीओ जारी गर्ने तयारीमा रहेको जगदम्बा स्टीलको लाइन काटियो, १ अर्ब २८ करोड बक्यौता तिर्न बाँकी
काठमाडौँ । बक्यौता नर्तिने उद्योग माथि नेपाल विद्युत प्राधिकरणले एक्सन सुरु गरेको छ । बक्यौता रकम नदिएको भन्दै प्राधिकरणले जगदम्बा स्टीलको लाइन काटेको हो ।
डेडिकेटेड लाइनको जगदम्बाले मात्र १ अर्ब २८ करोड १४ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ । यो बक्यौता रहेका ५६ उद्योगमध्यकै सबैभन्दा बढी रकम हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २०० रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता ३०० रुपैयाँको दरले आईपीओ जारी गर्ने तयारीमा रहेको छ । जसका लागि धितोपत्र बोर्डमा समेत कम्पनीले निवेदन दिइसकेको छ ।
यसअघि बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले पाँच उद्योगमा विद्युत् कटौती गरिसकेको छ । प्राधिकरणले हालसम्म रिलायन्स स्पिनिङ मिल्सको ७३ करोड, घोराही सिमेन्टको ४० करोड ६८ लाख, अर्घाखाँची सिमेन्टको ३५ करोड ८८ लाख, जगदम्बा सिन्थेटिक्सको १६ करोड ४ लाख र हुलास स्टिलको ११ करोड २९ लाख बक्यौता नदिएको भन्दै विद्युत् कटौती गरेको छ । कम्पनीबाट लाइन काटिएपनि नाफामा थप संकुचन देखिने खतरा बढेको छ ।
प्राधिकरण्का निर्देशक कुलमान घिसिङले पर्याप्त कानुनी आधारमै उद्योगीसँग बक्यौता मागेको र बक्यौता नतिरेपछि लाइन काट्न बाध्य भएको बताउँदै आइरहेका छन् दुई–दुईवटा क्याबिनेटले माघ ०७२ देखि वैशाख ०७५ सम्मको बक्यौता उठाउन भनेको छ । दोस्रोपटक लाल आयोको प्रतिवेदनका आधारमा नै यस अवधिको बक्यौता उठाउनुपर्ने भनेर मन्त्रिपरिषद्ले निर्णय गरेको छ । त्यसभन्दा अघि अदालतले नै फैसला गरेको छ । यीबाहेक लेखा समिति, महालेखा परीक्षक, प्राधिकरणको सञ्चालक समितिले यो पैसा उठाउनुपर्ने भनेको छ ।