११ महिनामा ६ खर्ब २८ अर्बको शेयर कारोबारः जेठमा मात्र १ खर्बको कारोबार हुँदा हाइड्रोपावर र फाइनान्सको हिस्सा धेरै
काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा ६ खर्ब २८ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ६ खर्ब २८ अर्ब ४३ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको हो । चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्मको अवधिमा नेप्सेमा रहेका १३ समूह, बैङ्कहरूको ऋणपत्र, संस्थापक सेयर र अग्राधिकार सेयर गरी १ अर्ब ७८ करोड ७० हजार कित्ता शेयर किनबेच भएको हो ।
उक्त कारोबार गत आर्थिक वर्षको सोही तुलनाको अवधि भन्दा ६५.५१ प्रतिशतले बढी कारोबार हो । गत आर्थिक वर्षको ११ महिनामा १ अर्ब ७ करोड ३८ लाख ४९ हजार कित्ता बराबरको ३ खर्ब ८६ अर्ब ६९ करोड ७९ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको थियो ।
१३ समूहमध्ये सर्वाधिक हाइड्रोपावर कम्पनीहरूको सेयर खरिद बिक्री भएको छ । नेप्सेमा ९१ वटा हाइड्रोपावर सूचीकृत छन् । कुल सेयर खरिदबिक्री रकममध्ये हाइड्रोपावर समूहको हिस्सा मात्रै २८.५ प्रतिशत देखिएको छ । हाइड्रोपावर समूहको ६२ करोड ११ लाख २० हजार कित्ता बराबरको १ खर्ब ७८ अर्ब ३३ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा हाइड्रोपावर सेक्टरको १ खर्ब १५ अर्ब ९८ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।
यस्तै, कारोबार रकममा दोस्रो ठूलो हिस्सा वाणिज्य बैंकको ९.६ प्रतिशत रहेको छ । यस अवधिमा वाणिज्य बैंक समूहको २२ करोड ३४ लाख ८५ हजार कित्ता बराबरको ६० अर्ब ११ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यता, कारोबार धेरै हुने तेस्रो नम्बर सूचीमा माइक्रोफाइनान्स समूहको ९ प्रतिशत हिस्सा रहेको छ । माइक्रोफाइनान्स समूहको ५६ अर्ब २४ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा निर्माण र प्रशोधन समूहको ८.४ प्रतिशत हिस्सा अर्थात ५२ अर्ब ८४ करोड ६७ लाख रुपैयाँ, जीवन बीमा समूहको ८.४ प्रतिशत हिस्सा अर्थात् ५२ अर्ब ५३ करोड रुपैयाँ, फाइनान्स समूहको ७.३ प्रतिशत हिस्सा अर्थात् ४५ अर्ब ८४ करोड रुपैयाँ, निर्जीवन बीमा समूहको ५.५ प्रतिशत हिस्सा अर्थात् ३४ अर्ब ५९ करोड रुपैयाँ र विकास बैंक समूहको ५.४ प्रतिशत हिस्सा अर्थात् ३४ अर्ब ३ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
यस अवधिमा सबै भन्दा कम म्युचुअल फन्ड १ अर्ब ५५ करोड रुपैयाँको मात्र कारोबार भएको छ ।
जेठमा मात्रै १ खर्बको कारोबार
जेठ महिनामा मात्र नेप्सेमा १ खर्ब ५१ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अर्थतन्त्र लयमा आइरहेको, बैंकको ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको हुँदा जेठ महिनामा शेयर कारोबार बढेको हो । शेयर बजारको मेरुदण्ड भनेको नै मौद्रिक नीति हो ।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले जेठ महिनादेखि नै अबको मौद्रिक नीति खुकुलो आउने संकेत गरी रहेका थिए । सोहि कारण पनि लगानीकर्ताको मनोबल बलियो बन्यो जसले गर्दा शेयर कारोबार समेत सुधार तिर लम्किएको हो । जेठमा महिनामा २२ करोड ७५ लाख ५४ हजार कित्ता शेयर किनबेच भएको हो ।
जेठ महिनामा मात्र हाइड्रोपावर समूहका लगानीकर्ता सबैभन्दा बढी झुम्मिएका छन् । एक महिनामा हाइड्रोपावर समूहको ८ करोड कित्ता बराबरको २६ अर्ब ९५ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको हो । यता, फाइनान्स समूहको २२ अर्ब ५७ करोड रुपैयाँ, माइक्रोफाइनान्स समूहको १९ अर्ब ५१ करोड रुपैयाँ, वाणिज्य बैंक समूहको ७ करोड २४ लाख रुपैयाँ, विकास बैंक समूहको ५ अर्ब २० करोड, जीवन बीमा समूहको ४ अर्ब १६ करोड र निर्जीवन बीमा समूहको ३ अर्ब ९६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
साथै, होटल तथा पर्यटन समूहको ३ अर्ब ६ करोड, व्यापार समूहको ३८ करोड, होटल तथा पर्यटनको ३ अर्ब ६ करोड, निर्माण र प्रशोधन समूहको ४ अर्ब ९५ करोड, इन्भेष्टमेन्ट समूहको ८ अर्ब ८९ करोडको शेयर कारोबार भएको छ ।