नेपालको लागि आईएमएफले गर्यो ईसीएफअन्तर्गतको अन्तिम किस्ता स्वीकृत
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालका लागि ४ करोड १३ लाख अमेरिकी डलर बराबर (५ अर्ब ४९ करोड रुपैयाँ) विस्तारित ऋण सुविधा (ईसीएफ) रकम स्वीकृत गरेको छ । कोषको कार्यकारी बोर्डले नेपालमा ईसीएफबारे चौथो समीक्षा गर्दै अन्तिम किस्ता रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
विस्तारित ऋण सुविधामार्फतका कार्यक्रम कार्यान्वयनमा नेपालले राम्रो प्रगति गरेको उल्लेख गर्दै आईएमएफले चौथो किस्ताको रकम स्वीकृत गरेको हो । आर्थिक गतिविधिमा महामारी तथा विश्वव्यापी जोखिमको अवस्थालाई आन्तरिक रुपमा न्यूनीकरणका लागि नेपालले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको कोषले उल्लेख गरेको छ ।
नेपालले आर्थिक सुधार एजेन्डामा महत्त्वपूर्ण प्रगति गरेको उल्लेख गर्दै आईएमएफले मौद्रिक नीति, बैंकिङ नियमनजस्ता माध्यममार्फत कोभिड १९ का असरविरुद्ध प्रभावकारी भूमिका निर्वाह गरेको जनाएको छ ।
त्यस्तै आयात प्रतिवन्ध नगरी विदेशी मुद्रा सञ्चितिमा सुधार गरेको, चालु पूँजीगत कर्जा निर्देशिकामार्फत बैंकिङ सुपरीवेक्षण तथा नियमनमा सुधार गरेकोमा कोषले प्रशंसा गरेको छ । नेपालले ऊर्जा क्षेत्रमार्फत आर्थिक वृद्धिदरको संभावना देखाएको आईएमएफले जनाएको छ ।