१४ निर्जीवन बीमा कम्पनीको दावी बक्यौता २० अर्ब माथि, सलिकोको बक्यौता सबैभन्दा धेरै (कसको कति सूचिसहित)

नबराज न्यौपाने
२६ असार २०८१, बुधबार २०:२७

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले बीमा दावी भुक्तानीको लागि पटक पटक दवाव र कारवाही गर्ने समेतको चेतावनी दिँदा समेत निर्जीवन बीमा कम्पनीहरुमा दावी भुक्तानीको अवस्था कहाली लाग्दो रुपमा देखिएको छ ।

नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब २३ करोड ८६ लाख रुपैयाँ बीमितहरुलाई दावी भुक्तानी दिन बाँकी रहेको प्राप्त तथ्याङ्कले औल्याएको छ । हालसम्म यी कम्पनीहरुबाट एक लाख दुई हजार १३४ वटा बीमा पोलिसीको दावी भुक्तानी बक्यौता देखिएको छ ।

तथ्याङ्क अनुसार सबैभन्दा धेरै बक्यौता राख्ने कम्पनीको सूचिमा सगरमाथा लुम्बिनी (सलिको) परेको छ भने बीमा दावी भुक्तानीको बक्यौता सबैभन्दा कम बनाएर बीमितको विश्वास जित्ने कम्पनीका रुपमा प्रभु इन्स्योरेन्स कम्पनी पर्न सफल भएको छ ।

कम्पनीहरुबाट लिइएको तथ्याङ्क अनुसार सगरमाथा लुम्बिनी (सलिको) को दावी भुक्तानी बक्यौता भयावह रहको देखिएको छ । हालसम्म सो कम्पनीको दावी भुक्तानी तीन अर्ब ७० करोड ३३ लाख रुपैयाँ रहेको देखिएको छ । कम्पनीले १४ हजार २०५ जना बीमितहरुलाई सो रकम भुक्तानी गर्न बाँकी छ ।

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको दुई अर्ब २२ करोड आठ लाख रुपैयाँ बक्यौता रहँदा आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको दावी भुक्तानी बक्यौता एक अर्ब ९९ करोड रुपैयाँ रहेको छ । त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीको दावी भुक्तानी बक्यौता एक अर्ब ७९ करोड रहेको छ ।

चालु आवको ११ महिनाको अवधीसम्मको तथ्याङ्क अनुसार सानिमा जिआईसीको दावी भुक्तानी बक्यौता एक अर्ब ५६ करोड, नेको इन्स्योरेन्स कम्पनीको दावी भुक्तानी बक्यौता एक अर्ब ४७ करोड, हिमायन एभरेष्ट इन्स्योरेन्स कम्पनीको बक्यौता एक अर्ब ४५ करोड, राष्ट्रिय बीमा कम्पनीको बक्यौता एक अर्ब ४३ करोड रहेको छ ।

त्यस्तै, युनाईटेड अजोड इन्स्योरेन्सको बीमा दावी भुक्तानी बक्यौता एक अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने एनएलजी इन्स्योरेन्स कम्पनीको बक्यौता रकम एक अर्ब २८ करोड रुपैयाँ रहेको छ । सबैभन्दा पुरानो नेपाल इन्स्योरेन्स कम्पनीको बक्यौता दावी भुक्तानी ७३ करोड रुपैयाँ मात्र रहेको छ । त्यस्तै, प्रभु इन्स्योरेन्सको बक्यौता रकम ६१ करोड ३९ लाख रुपैयाँ मात्रै रहेको छ ।

नेपालमा दर्ता भई सञ्चालित निर्जीवन बीमा कम्पनी मध्ये सबैभन्दा कम दावी भुक्तानी बक्यौता हुने कम्पनीको सूचिमा प्रभु इन्स्योरेन्स पर्न सफल भएको छ । प्रभु इन्स्योरेन्स कम्पनीका सिईओ संचित बज्राचार्यले कम्पनीले बीमा दावी भुक्तानी विभागलाई बीमितको दावी रकम बक्यौता नराख्न स्पष्ट निर्देशन दिएको र शाखाहरुबाटै पनि दावी भुक्तानीको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएकोले दावी भुक्तानीमा कुनै समस्या नरहेको बताए ।

त्यसैगरी, भारतीय कम्पनीको नेपालस्थित शाखा कार्यालय दि ओरियन्टलको ५० करोड रुपैयाँ र नेशनल इन्स्योरेन्स कम्पनीको छ करोड रुपैयाँ मात्रै बक्यौता देखिएको छ ।

निर्जीवन बीमा कम्पनीहरुले बीमा गर्दा राम्रोसँग अण्डरराईटिङ नगर्ने तथा क्षति भइसकेपछि बीमा दावी भुक्तानी गर्ने बेलामा विभिन्न झन्झट झिकेर अप्ठेरो पार्दै आएका छन् । कतिपय घटनाहरुमा बीमा कम्पनीले सर्भेयरलाई प्रभावित पारेर न्यून दिन खोज्ने गलत प्रवृत्तिका कारण बीमा दावी भुक्तानीमा विवाद आउने गरेका छन् । त्यस्तै, बीमितले समयमा कागजात नदिने, बीमितले बीमा दावीको कृत्तिम घटना सिर्जना गर्ने, बीमा दावी लिनकै लागि योजनाबद्ध घटना गराउने जस्ता कार्यले बीमा दावी भुक्तानी थप जटिल र ढिलाई हुने गरेको छ ।

कोरोना बीमाको दावी भुक्तानी अहिलेसम्म हुन सकेको छैन । कोरोना बीमाको दावी भुक्तानी बीमा कम्पनीबाटै असुल गर्नुपर्ने महालेखा परिक्षकको कार्यालयको टिप्पणीलाई अर्थमन्त्रालय र बीमा प्राधिकरणले कुनै सुनुवाई नगरी दराजको कुनामा थन्क्याएका छन् । बीमा कम्पनीहरुले आफ्नो दायित्व स्वीकार नगरी नेपाल सरकारलाई तेस्र्याएको कारण कोरोना बीमाको दावी भुक्तानी चार वर्षदेखि अलपत्र छ ।

नियामक नेपाल बीमा प्राधिकरणका प्रबक्ता निर्देशक सुशिल सुवेदीले बीमा दावी भुक्तानी जतिसक्दो छिटो दिन प्राधिकरणले निरन्तर अनुगमन गरिरहेको बताए । प्रबक्ता सुवेदीले निर्जीवन बीमा कम्पनीहरुमा बीमा दावी भुक्तानी सम्बन्धी सेवामा तदारुकता बढेको र यसलाई अझै बढाएर बीमा दावी भुक्तानी छरितो बनाउने प्रयत्न जारी रहेको बताए ।

बीमितलाई बीमा दावी भुक्तानी सम्बन्धी जनचेतनाको अभावको कारण समयमा कागजात दिन नसक्ने, सुरक्षित राख्नुपर्ने कतिपय कागजातहरु हराउने समस्याका कारण पनि बीमा दावी भुक्तानी समयमा हुन नसक्ने समस्याहरु देखिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*