चालु आवको अन्तिम लक्ष्य पुर्‍याउन बीमा अभिकर्ताहरुको दौडधुप  

राजन कठायत 
२६ असार २०८१, बुधबार १९:२७

काठमाडौं । जीवन बीमा कम्पनीहरुले दिएको अन्तिम लक्ष्य पुर्याउन यतिबेला अभिकर्ताहरुको दौडधुप चलिरहेको छ । चालु आर्थिक वर्ष २०८०।०८१ का सकिन ६ दिन बाँकी रहेको बेला जीवन बीमा कम्पनीहरुले ल्याएका विभिन्न योजनाहरुको लक्ष्य पुरा गर्न अभिकर्ताहरुको दौडधुप चलेको हो ।

जीवन बीमा कम्पनीहरुले आफ्ना अभिकर्ताहरुका लागि विभिन्न आर्थिक वर्ष तथा मासिक योजनाहरु ल्याएका छन् । उक्त योजनामा समावेश हुनका लागि तोकिएको अवधिभित्र तोकिएको व्यवसाय गर्न आवश्यक रहेको हुन्छ । अभिकर्ताहरुले उक्त लक्ष्य भेटाउँन सफल भएको खण्डमा कम्पनीले सञ्चालन गर्ने योजना अनुसारका कार्यक्रम, तालिममा सहभागि भई विभिन्न प्रशिक्षण पनि लिन सक्ने हुन्छन् ।

यति बेला विभिन्न जीवन बीमा कम्पनीका अभिकर्ताहरुको लागी मानो रोपेर मुरी फलाउने समय रहेको अधिकांश अभिकर्ताहरुले बताएका छन् । उनीहरुका अनुसार अभिकर्ताहरुले आफ्नो क्षमता अनुसारका लक्ष्य लिएका हुन्छन् । सोही लक्ष्य प्राप्त गरी कम्पनीमा आफ्नो सफल अभिकर्ताको परिचय बनाउँने महत्वपूर्ण समयका साथै, मौका रहेको छ ।

जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई प्रोत्साहन र उनीहरुको लक्ष्य प्राप्तिका लागि विभिन्न आन्तरिक तथा बैदेशिक भ्रमण र सवारी साधन (स्कुटर), अभिकर्ता क्षमता अभिवृद्धि तालिम लगायतको व्यवस्था गरेका छन् । सोही स्किमहरुमा समावेश हुनको लागि अभिकर्ताहरुले वार्षिक रुपमा कम्पनीले तोके बमोजिमको  व्यवसाय गर्न आवश्यक रहेको हुन्छ । अभिकर्ताहरुले वर्षभरी गरेका बीमा तथा व्यवसायको आधारमा तलब पनि निर्धारण हुने परिपाटी रहेको छ । यस्तो विविध कारणले अभिकर्ताहरु असार महिनामा निकै व्यस्त र दौडधुपमा रहेका छन् ।

के भन्छन् अभिकर्ता ?

सिटिजन लाइफ इन्स्योरेन्सको गाइघाट ब्रान्चका एजेन्सी म्यानेजर राजेश कार्कीले आजभोलि असार मसान्त भएका कारण कम्पनीले दिएको टार्गेट पुर्याउन लागि परिरहेको बताएका छन् । साथै, उनले भने, ‘म केही दिन अगाडीमात्र एमडीआरटी बन्न सफल भए । अव मेरो प्लाटिनम् क्लवमा प्रवेश गर्ने उद्देश्य रहेको छ । त्यसैले अव आर्थिक वर्ष सकिन अझै ६ दिन रहेको छ । अव ६ दिन भित्र जसरी पनि प्लाटिनम् क्लवमा पुग्ने लक्ष्य पुरा गर्नेछु।’

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर नविन लामिछानेले अभिकर्ताहरुको लागि असार मसान्त भनेको किसान जस्तै मानो लगाएर मुरी फलाउने समय रहेको र एजेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजरहरुलाई झनै आफ्नो लक्ष्य प्राप्तीको लागि महत्वूर्ण रहेको बताए । उनले भने, ‘म पनि एकदमै व्यस्त रहेको छु । यो समयमा सक्दो व्यवसाय गरेर बाँकी रहेका दिनलाई ह्यापी इण्डिङ्ग गर्ने उद्देश्य रहेको छ । प्राधिकरणले हचुवाको भरमा ल्याएको एकाघर सदस्य बीमा गर्न नपाउने निर्देशिकाले थोरै अप्ठ्यारो भएको छ । तर, पनि हामी लक्ष्य प्राप्तिको लागि संघर्ष गरिरहेका छौ।’

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका चिफ एजेन्सी म्यानेजर एबि गुरुङले असार मसान्तमा अभिकर्ताहरुले आफ्नो क्षमता अनुसारको लक्ष्य पुर्याउन दौडधुप गर्दै आएको बताए । उनले भने, ‘अभिकर्ताहरुले आफ्नो क्षमता अनुसारको लक्ष्य प्राप्त गर्नको लागि एक वर्ष भरी बीमा व्यवसाय गर्दै आएका हुन्छन् । तरपनि लक्ष्य प्राप्तीको लागि असार मसान्त एकदमै महत्वपूर्ण रहेको हुन्छ।’

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका वरिष्ठ एजेन्सी म्यानेजर बिजय सुनारले असार मसान्त चाँही मानो रोपेर मुरी फलाएजस्तै, आफुहरुलाई पनि वर्षभरी गरेको  कार्यलाई टुङ्गो गरी लक्ष्य प्राप्तीको लागि महत्वपूर्ण समय रहेको बताए । ‘लक्ष्य पूरा गर्नको लागि दैनिक रुपमा दौडधुप चलिरहेको छ । बिहान घरबाट निस्कियपछि कति बेला खाना खाने रु, कति बेला घर आउँने रु भन्ने टुङ्गो छैन् । यतिबेला सिनियर एजेन्सीहरुलाई पनि भेटना गर्नेपर्ने हुन्छ।’ उनले भने ‘अभिकर्ताहरुलाई व्यवसाय भित्र्याउनै अप्ठ्योरो परेको अवस्थामा एक बन्द कोठाभित्र बसेर ल्याएको प्राधिकरणको एकाघर सदस्यको  बीमा गर्न नपाउँने निर्देशिकाले लक्ष्य प्राप्तीको लागि झनै असहज भैरहेको छ।’

आइएमई लाइफ इन्स्योरेन्सकी अभिकर्ता गेल्मु लामाले अभिकर्ताहरुको विभिन्न वार्षिक लक्ष्य प्राप्ति र तलव निर्धारणका लागि पनि असार मसान्त निकै महत्वपूर्ण भएकोले दौडधुप चलिरहेको बताइन् । ‘दौडधुप चलिरहेको छ । असार मसान्ततीर अरु महिनाभन्दा बढी काम कारबाही र बीमा पोलिसी काट्नु पर्नेहुन्छ । विभिन्न योजनामा कम्पनीले सवारी साधन उपहार, विभिन्न भ्रमण, तालिम तथा कार्यक्रममा पनि समावेशको लागि यो समय निकै महत्वपूर्ण रहेको छ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*