बीमाङ्की नियुक्ति मार्गदर्शन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न , साउन १ गतेदेखि लागु हुदै

२६ असार २०८१, बुधबार १७:३३

काठमाडौँ । नेपाल बीमा प्राधिकरणबाट जारी भएको बीमा कम्पनीहरूका लागि बीमाङ्की नियुक्ति सम्बन्धी मार्गदर्शन, २०८१ सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम मङ्गलबार ललिपुरमा सम्पन्न भएको छ । आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउने मार्गर्दशनमा भएका बीमाङ्की नियुक्ति सम्बन्धी समग्र व्यवस्थाहरूका बारेमा बीमकहरूलाई विस्तृत जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले बीमा कम्पनीहरूले गर्ने व्यवसाय बढ्ने क्रममा रहेको र त्यस क्रममा व्यवसायको जोखिम तथा जटिलता पनि बढ्ने हुँदा बीमाङ्कीको महत्व अझ बढी रहेको बताइन् । उनले बीमाङ्की नियुक्ति प्रक्रियालाई सहज बनाउन प्राधिकरणबाट बीमाङ्की नियुक्ति सम्बन्धी मार्गदर्शन जारी भएको स्पष्ट गरिन् ।

असार २४ गतेदेखि दुई दिनसम्म आयोजित कार्यक्रममा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूका बीमाङ्कीय विभाग र मानवस्रोत विभागका प्रमुखहरूको सहभागिता रहेको प्राधिकरणले जानकारी दिएको छ । कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राम कोजुले गरेका थिए ।

प्राधिकरणले बीमाङ्कीको न्यूनतम योग्यता, अनुभव, मापदण्ड र जिम्मेवारी लगायतका विषयमा विस्तृत अध्ययन र प्रचलित अन्तर्राष्ट्रिय अभ्यास समेतका आधारमा बीमाङ्की नियुक्ति सम्बन्धी मार्गदर्शन, २०८१ तयार गरी साउन १ गतेदेखि कार्यान्वयनमा आउने गरी गत वैशाख ४ गते जारी गरेको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*