बीमा प्राधिकरणको लाइभ रिपोर्टिङ सिस्टमले रातारात नक्कली व्यवसाय खडा गर्ने बीमा कम्पनी अप्ठेरोमा

२६ असार २०८१, बुधबार १३:१३

काठमाडौं । विगतमा केही बीमा कम्पनीहरुले रातारात नक्कली बीमा पोलिसी खडा गरेर आफ्नो व्यवसाय बृद्धि भएको तथ्याङ्क देखाउने गरेकोमा यस वर्षदेखि नियामक बीमा प्राधिकरणले अनलाईनमार्फत लाइभ रिपोर्टिङ गर्ने व्यवस्थाले रोकिने भएको छ ।

बीमा प्राधिकरणका अनुसार यस वर्ष हरेक दिनको प्रत्यक्ष विवरण कम्पनीहरुबाट प्राधिकरणको सर्भरमा जाने व्यवस्था गरिएको छ । गत असार १६ गतेदेखि शुरू भएको उक्त लाइभ रिपोर्टिङ सम्बन्धी व्यवस्थाका अनुसार बीमा कम्पनीहको अब हरेक दिन पाँच बजेसम्मको रिपोर्टिङ प्राधिकरणको सर्भरमा समेत हुनेछ ।

नयाँ व्यवस्थाले आर्थिक वर्ष तथा त्रैमासको अन्त्यमा बीमाको व्यवसायमा चलखेल गर्ने गलत प्रवृत्तिको अन्त्य भएको छ । नयाँ व्यवस्था अनुसार कुनै पनि बीमा कम्पनीका सिईओहरुले व्यवसायमा तलमाथि गर्न सक्दैनन् । विगतका वर्षहरुमा आर्थिक वर्षको अन्त्यमा आफ्नो व्यवसाय राम्रो देखाउन कृतिम व्यवसायहरु सिर्जना गर्ने गरेका थिए । बीमा क्षेत्रमा गलत प्रवृत्तिको रुपमा विकास हुँदै गरेको उक्त धन्दा अब प्राधिकरणको अनलाईन लाइभ रिपोर्टिङ सिस्टमले बन्द गरिदिएको छ ।

नयाँ व्यवस्था अनुसार अन्तिम समयमा बीमा व्यवसायमा हेराफेरी गर्न नसक्ने भएपछि केही बीमा कम्पनीका सिईओहरु अप्ठेरोमा पर्ने चर्चा बीमा बजारमा व्याप्त छ । बीमा कम्पनीहरुबाट प्राप्त लक्ष्यभन्दा पनि बढी व्यवसाय देखाएर आर्थिक लाभ लिन उक्त धन्दा एक ताका निकै फस्टाएको थियो । पछिल्लो समय प्राधिकरणको कडा नियमन र साउन १ गते हरेक बीमा कम्पनीमा पुगेर स्थलगत अनुगमन गर्न थालेपछि धेरै हदसम्म कमी आएको थियो ।

बीमा प्राधिकरणका अनुसार राष्ट्रिय बीमा कम्पनी बाहेकका सबै बीमा कम्पनीहरुको एपिआई मोडलमा हरेक साँझ प्राधिकरणको सर्भरमा लाइभ रिपोर्टिङ गर्ने सिस्टम जडान गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*