धितोपत्र बोर्डको कुर्सीले नेता किन्यो सरकार ढाल्योः सांसद कार्चेन
काठमाडौँँ । प्रतिनिधि सभाका सांसद छिरिङ डम्डुल लामा (कार्चेन) ले नेपाल धितोपत्र बोर्डको कुर्सीले गर्दा सरकार ढलेको बताएका छन् । प्रतिनिधि सभाको न्यून समयमा बोल्दै कार्चेनले यस्तो बताएका हुन् ।
उनले भने, ‘बजारमा चर्चा छ, धितोपत्र बोर्डको कुर्सीले नेता किन्यो सरकार ढाल्यो रे । कुर्सी कस्तो खोले हो ? दल किन्ने, नेता किन्ने ? अनि सरकारै ढाल्ने ।’
कार्चेनले विभिन्न काण्डको छानविनलाई रोक्न काम गठबन्धनबाट नहोस् भन्दै आग्रह गरे । ‘यही असार १५ गतेको दहीच्यूरा खाएपछि आशन र भाषण फेर्दै कसैद्धारा बनाइएको गठबन्धन अब दहीच्यूरे नबनोस् । विभिन्न काण्डलाई रोक्न गठबन्धन तटबन्धन नबनोस्’ उनले भने ।
उनले मध्यरातमा अमुक मान्छेको घरमा गोप्य सम्झौता गर्नु कहाँको नैतिकता हो भनेर प्रश्न गरे । ‘स्वर्ग गए सँगै जाउला, नर्क गए सँगै जाउँला यो वर्ष मेरो प्रधानमन्त्री बन्ने योगै छैन भनेकोमा अमुक मान्छेको घरमा मध्यरातमा गोप्य सम्झौता गर्नु कहाँको नैतिकता हो ?’ कार्चेनले भने, ‘अब संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रधानमन्त्री बन्न लाग्नु भएका सबैभन्दा प्रधानमन्त्रीहरुलाइ हार्दिक शुभकामना छ ।’