रिलायन्स स्पिनिङ मिल्सको आइपीओ निष्काशन स्वीकृतीबारे संसदीय समितिमा उठ्यो प्रश्न
काठमाडौं। बुक बिल्डिमा आइपीओ निष्काशनको तयारी रहेको रिलायन्स स्पिनिङ मिल्सलाई महँगो मूल्यमा आइपीओ निष्काशनको अनुमति दिएको विषयमा संसदीय समितिमा प्रश्न उठेको छ।
प्रतिनिधि सभाको अर्थ समितिको सोमबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दीपक खड़काले प्रश्न उठाएका थिए ।
उनले नेपाल धितोपत्र बोर्डले के आधारमा रिलायन्स स्पिनिङ मिल्सलाई महँगो मूल्यमा आइपीओ निष्काशनको अनुमति दिएको हो भन्दै प्रश्न गरेका थिए । ६ महिनादेखि ठप्प रहेको आइपीओको चाङलाई छोडेर किन स्वीकृती दिएको भन्दै प्रश्न गरेका छन् ।
पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले असार १२ गते रिलायन्स स्पिनिङ मिल्सलाई प्रति कित्ता ८२०.८० रुपैयाँका दरले आइपीओ निष्काशन गर्न अनुमति दिएको थियो ।
डेडिकेटेड लाइन प्रयोगबापत नेपाल विद्युत प्राधिकरणलाई बुझाउन बाँकी ७५ करोड ३६ लाख ८४ हजार रुपैयाँको हिसाब नदेखाएको कम्पनीको प्रति सेयर आम्दानी पछिल्लो वित्तीय विवरण अनुसार २ रुपैयाँ मात्र छ। उसले बोर्डमा अनुमति माग्ने क्रममा प्रति सेयर आम्दानी ५४ रुपैयाँ भएको विवरण पेस गरेको थियो ।