बैंकहरुको ब्याजदर घटिरहँदा पनि कर्जाको ठोस डिमाण्ड छैनः गर्भनर

२४ असार २०८१, सोमबार २०:३९

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर घटे पनि कर्जाको ठोस डिमाण्ड नभएको बताएका छन् । । आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
उनले पछिल्लो समय बैंकको ब्याजदर घट्दा पनि कर्जाको माग न्युन भएको उल्लेख गरे ।

माग कतै छ भने पनि उत्पादित क्षेत्रहरुमा कमै छ । अहिले अर्थतन्त्रमा रहेको एक खालको चुनौतीकाबीच मौद्रिक नीति बनाउन बसेका छौं । कसिलो मौद्रिक नीतिलाई लचिलो मौद्रिक नीति बनाइसकेका छौं । दक्षिण एशियामा नेपालको पोलिसी रेट कम छ । पाकिस्तानको २० प्रतिशत हुँदा हाम्रो ५।५ प्रतिशत छ’ गभर्नर अधिकारीले भने ।

गभर्नर अधिकारीले अर्थतन्त्रमा शिथिलता रहेको भन्दै रिकभरीको लागि सबैको समन्वय आवश्यक रहेको बताए । उनले दक्षिण एसियामा नेपालको पोलिसी रेट कम रहेको पनि बताए । अर्थतन्त्रमा संरचनागत समस्या चिर्न अर्थसमितिले पनि भूमिका रहने उनले उल्लेख गरे ।

अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटमार्फत ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको बताए ।

उनले बजेटमा उल्लेखित नीति तथा कार्यक्रम कार्यान्वयनमा सहयोग पुग्नेगरी मौद्रिक नीति आउनुपर्ने धारणा राखे ।

६ प्रतिशतको आर्थिक वृद्धि र ५।५ प्रतिशतको मुद्रास्फिती कायम गर्नेगरी मौद्रिक नीति आउने विश्वास पनि उनले व्यक्त गरे ।

सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धि हुने सबैले स्वीकार गरेकाले मौद्रिक नीतिले आर्थिक वृद्धिको सरकारी लक्ष्य हासिल गर्न प्लेइङ फिल्ड तयार पारिदिनुपर्ने उनको धारणा थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*