एमाले कांग्रेसको नयाँ गठबन्धनमा को को बन्दैछन् मन्त्री, महेश बर्तौला अर्थमन्त्री बन्दै !
काठमाडौं । यही असार २८ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रक्रिया पुरा गरेर सत्ता छोड्ने तयारी गरिरहेका छन् । उता, कांग्रेस एमालेको नयाँ गठबन्धनमा को को मन्त्री बन्ने भन्ने चर्चा पनि उत्तिकै चलिरहेको छ । सो मध्येमा सर्वाधिक चर्चामा गृह मन्त्रालय र अर्थमन्त्रालयमाथि भइरहेको छ ।
युरोपभर बाम गठबन्धनको उदय भइरहँदा नेपालमा भने सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी नेकपा एमालेले प्रजातान्त्रिक शक्ति नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने सम्झौता गरेको छ । गत असार १७ गते मध्येराति भएको सम्झौता अनुसार कांग्रेसको समर्थनमा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् । त्यस्तै, नेपाली कांग्रेसले गृह मन्त्रालय सहित ११ वटा मन्त्रालय पाउनेछन् भने एमालेले अर्थ मन्त्रालय सहित १० वटा मन्त्रालय पाउने प्रारम्भिक सहमति भइसकेको छ ।
बीमापोष्टलाई विभिन्न राजनीतिक स्रोतले दिएको जानकारी अनुसार नेपाली कांग्रेसबाट कृष्ण सिटौलालाई उप प्रधानमन्त्री तथा गृहमन्त्री बनाउने योजना रहेको छ । तर, अझै छलफल जारी रहेकोले अहिले नै यकिन भने भइसकेको छैन । हालसम्म भइरहेको छलफल अनुसार केपी ओलीले उपप्रधानमन्त्री नराखी सरकार बनाउन चाहेका छन् । यदि उपप्रधानमन्त्री रहित सरकार बनेको खण्डमा गगन थापा, मोहन बस्नेत मध्येबाट एक जना गृहमन्त्री बन्नेछन् । नेपाली कांग्रेसबाट अन्य मन्त्री बन्नेहरुमा हालका अर्थ समितिका सभापति सन्तोष चालिसे, राजन केसी मध्येबाट एक जना, किशोर सिंह राठौर, चन्द्र भण्डारी, रामकृष्ण यादव मन्त्री बन्ने छन् ।
उता, एमालेबाट अर्थमन्त्री बन्न मकवानपुरका सांसद महेश बर्तौलालाई प्रस्ताव गरिएको छ । हाल संसदमा प्रमुख सचेतकको भूमिका निर्वाह गर्दै संसदमा जनताको आवाज मुखरित गर्दै आएका बर्तौलालाई केपी ओलीले चाहेका छन् । अन्यथा भएन भने बर्तौला वा पदम गिरी मध्ये एक जना अर्थमन्त्री बन्ने सम्भावना रहेको छ । उता, महेश बर्तौलाले भने तत्काल मन्त्री बन्ने कि संसदीय भूमिका रहेर काम गर्ने भन्नेमा अन्तिम निर्णय गर्न बाँकी रहेको बताए ।
त्यस्तै, एमालेबाट पदम गिरी, सुनिता बराल, सुहाङ नेम्वाङ, जुली महतो विद्या भट्टराई र ज्वाला शाह तीन जना महिला मध्ये एक जना मन्त्री बन्ने लाइनमा रहेका छन् ।
सरकार गठनको तयारी अघि बढ्दै गर्दा आज साँझ प्रधानमन्त्रीका रुपमा प्रस्तावित केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाबीचमा छलफल हुँदैछ ।