एकाघरको बीमा गर्न नपाउने व्यवस्थाले व्यवसाय खस्किने त्रासमा बीमा कम्पनीहरु, के भन्छन् अभिकर्ता ?

राजन कठायत 
२४ असार २०८१, सोमबार १६:०१

काठमाडौं । आफ्नै घरपरिवारका सदस्यको बीमा गर्न नपाउँदा यतिबेला बीमा अभिकर्ताहरु आक्रोशित बनेका छन् । आफ्नो परिवारको रक्षावरण गर्नुका साथै आम नागरिकहरुको बीमा गर्दै जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेका अभिकर्ताहरु बीमा प्राधिकरणको एक निर्णयले निराश बन्न पुगेका हुन् ।

जीवन बीमा क्षेत्रमा अभिकर्ता भनेका बीमा व्यवसायको मेरुदण्डका रुपमा उभिएका छन् । कम्पनीहरुले पनि सोही कुरालाई मध्य नजर गर्दै विभिन्न समयमा अभिकर्ताहरुलाई विभिन्न क्षमता अभिवृद्धि तालिम तथा मनोबल वृद्धिका साथै हौसला प्रदान गर्दै आएको छ । जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई आफ्नो क्षमताले भ्याएसम्म सेवा सुविधा उपलब्ध गर्दै आएका छन् ।

नागरिकहरुलाई अझ बढी बीमा क्षेत्रमा समायोजन गर्नको लागि अभिकर्ताहरुलाई नियमनकारी निकाय बीमा प्राधिकरणले प्रोत्साहन गर्नुको सट्टा उल्टै हतोत्साहित गर्ने नीति ल्याएर अभिकर्ताहरुको मनोबल घटाउँन पुगेको छ । बीमा अभिकर्ता पेशा धरासायी बन्दै गएको बेला झन प्राधिकरणको एकाघर सदस्यको बीमा गर्न नपाउँने निर्णयले अभिकर्ताहरु निरुत्साहित भएका छन् ।

सन्दर्भ हो, नेपाल बीमा प्राधिकरणले बिमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०८० को परिच्छेद–७ को ३६ नम्बरको ३ नं. बुँदामा बीमा अभिकर्ताले आफू अभिकर्ता भई आफ्नो एकाघर सदस्यको जीवन वा कुनै पनि सम्पत्ति वा दायित्वको बीमा गराउन पाउने छैन भनी उल्लेख गरि विसं. २०८० फागुन २४ गते स्वीकृत गरेको छ । यो निर्णयले अभिकर्ताहरुको मनोबल घटाउँनुको साथै, बीमा व्यवसायप्रति उनीहरुको रुचि पनि घट्दै गएको छ ।

महालेखापरिक्षक देखि अर्थमन्त्रालयसम्मका निकायले नेपाल बीमा प्राधिकरणमा दक्ष जनशक्तिको अभाव रहेको कुरा उल्लेख गर्दै आएका छन् । सोही कुरा बिमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिकाको सम्बन्धमा पनि प्रस्ट रुपले देखिएको छ ।

प्राधिकरणको कार्यालयको एक कोठाभित्र बसेर ल्याएका यस्ता निर्देशिकाले अभिकर्ताहरुलाई बीमा बजारमा आम नागरिकहरुका प्रश्नहरुको जवाफ दिनै अप्ठ्यारो परिस्थिती सिर्जना भएको छ । बीमा अभिकर्ता बजारमा जाँदा ग्राहकले सोध्ने पहिलो प्रश्न तपाइँको यस कम्पनीमा कति रकमको बीमा छ ?, बालबच्चा तथा परिवारका सदस्यको बीमा कति गर्नु भएको छ ?, घर–सम्पत्ति बीमा कतिको गर्नु भएको छ ? यस्ता प्रश्नहरुको जवाफ दिएर अभिकर्ताहरुले आफ्नो परिवार पश्चात अन्य नागरिकहरुको बीमा गर्दै आउँने प्रवृद्धि रहेको छ ।

के भन्छन् अभिकर्ता ?

पेशागत अभिकर्ता संघ नेपाल नेपाल लाइफ बीमक समितिको अध्यक्ष तथा एजेन्सी म्यानेजर गणेश अधिकारीले एकाघर सदस्यको जीवन बीमा गर्न नपाउँने गरी बीमा प्राधिकरणले ल्याएको निर्देशिका कुनै पनि हालतमा अभिकर्ताहरुको हितमा नरहेको र उक्त निर्देशिका चाँडो भन्दा चाँडो संशोधन गर्नुपर्ने बताए । ‘बीमा अभिकर्ताको तालिम लिए पश्चात पहिल्यै आम नागरिकहरुले पत्याउँदैनन् । त्यसैले पहिला आफ्नो घर परिवारकाहरुको बीमा गर्न आवश्यक हुन्छ । हामीले यो निर्णय संशोधन गर्न बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाललाई समेत ज्ञापन पत्र बुझाई सकेका छौं।’ अध्यक्ष अधिकारीले भने ।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्समा तीन पटक नेपाल टप भइसकेका एजेन्सी म्यानेजर तथा पेशागत बीमा अभिकर्ता संघ बिमक समिति नेशनल लाइफ इन्स्योरेन्सका सचिव शंकर लामिछाने अशान्तले बीमालाई अंकुश लगाउँन नमिल्ने भन्दै प्रक्रिया पुरा गरी आफ्नो परिवारका सदस्य तथा हरकोही नागरिकको बीमा गर्न पाउँनुपर्ने बताए । साथै उनले भने, ‘मान्छेहरु बीमा गर्न इच्छुक छन् भने, घरमा अभिकर्ता भएको खण्डमा घरमै गर्नु राम्रो हुन्छ । तर, मिसयूज हुनु हुदैन र प्रक्रिया चाँही सबै पुर्याउँनु पर्छ । प्राधिकरणले यो निर्देशिकालाई संशोधन गर्न आवश्यक रहेको छ’

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका एकदमै सक्रिय एजेन्सी म्यानेजर जीवन श्रेष्ठले पहिले आफ्नो घर परिवारको बीमा गर्न पाउँदा राम्रो हुने बताए । ‘हामीले पहिले आफ्नो परिवारको बीमा गराएर अन्य नागरिकको बीमा गर्दा पो सहज र राम्रो हुन्छ । आफ्नो परिवारमा अभिकर्ता छदाँछदै बीमा गर्नको लागि अन्य अभिकर्तालाई बोलाउँनु उचित हुदैन् । यस्ता विभिन्न कारणले गर्दा प्राधिकरणले उक्त निर्देशिका संशोधन गर्न जरुरी रहेको छ ।’ उनले भने ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकी चिफ एजेन्सी म्यानेजर नमिता न्यौपानेले बीमा प्राधिकरणले ल्याएको उक्त निर्देशिका अभिकर्ता पेशाको लागि अव्यवहारिक रहेको बताएकी छिन् । उनका अनुसार अभिकर्ताहरुले आफ्नो घर परिवारका सदस्यहरुको बीमा नै नगरी आम नागरिकहरुको बीमा गराउँदा अभिकर्ताहरुलाई अप्ठ्यारो हुने धारणा रहेको छ । ‘म अभिकर्ता छु भने, अब मैले मेरो श्रीमानको बीमा गर्न नपाउँने, छोरीको बीमा गर्न नपाउँने, बुबाको बीमा गर्न नपाउँने अनी मेरो चाँही बीमा अर्को मान्छेलाई दिनुपर्ने लगायतका कुराले बीमा अभिकर्ता पेशा धरासायी बन्दै गएको छ । यो व्यवस्थालाई संशोधन गर्नको लागि हामीले प्राधिकरणमा भनिसकेका छौ । यो निर्णय अभिकर्ताको लागि अव्यवहारिक रहेको छ।’ उनले भनिन् ।

सोही सन्दर्भमा आइएमई लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर गोबिन्द जोशीले बीमा प्राधिकरणले बिना कारण, बिना अर्थ र अनावश्यक रुपमा एकाघर सदस्यको बीमा गर्न नपाउँने गरी निर्देशिक ल्याएको बताएका छन् । उनले प्राधिकरणको उक्त निर्णयप्रति आक्रोश व्यक्त गर्दै भने, ‘यो निर्णय २ सय प्रतिशत गलत रहेको छ । त्यसैले प्राधिकरणले तत्काल उक्त निर्णय संशोधन भन्दा पनि खारेज गर्न आवश्यक रहेको छ।’

यो पनि पढ्नुहोस् :

बीमा अभिकर्ताले एकाघरको बीमा गर्न नपाउने व्यवस्था संसोधन गर्ने प्राधिकरणको आश्वासन

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*