लुडो खेल्दै धर्नामा कृषि तथा पशुपक्षी मन्त्रालयका कर्मचारी
काठमाडौँ । मुलुकको सङ्घीय राजधानी सिंहदरबारस्थित कृषि तथा पशुपक्षी मन्त्रालयको मूलद्वारमा केही राष्ट्रसेवक दैनिक दुई घन्टा लुडो खेल्दै धर्ना दिइरहेका छन् । उनीहरू विसं २०७५ मा कर्मचारी समायोजन गरिँदा केन्द्रमा क्षमताभन्दा बढी कर्मचारी राखियो भन्ने मागसहित धर्ना दिइरहेक हन् ।
सिंहदरबार परिसर आन्दोलन र धर्ना निषेधित क्षेत्र भए पनि मन्त्रालयकै प्रवेशद्वारमा नौ दिनदेखि निरन्तर धर्ना र ‘घरपास–नागपास’ चलिरहेको छ । त्यहाँ धर्ना दिइरहेका कर्मचारी दैनिक दुई घन्टा यसरी नै समय कटाइरहेका छन् । कृषिप्रधान मुलुकमा असार मानो रोपेर मुरी उब्जाउन व्यस्त रहने तथा कर्मचारी वर्षभरको कामको हरहिसाब समीक्षामा खटिनुपर्ने समय हो ।
समायोजनमा चाहिनेभन्दा बढी सङ्ख्यामा केन्द्रमा कर्मचारी राखिएका कारण वृत्ति विकासमा समस्या भएको जनाउँदै धर्नारत कर्मचारीले दरबन्दी प्राप्तिका लागि धेरै पटक ताकेता गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको प्रतिक्रिया उनीहरुले दिइरहेका छन् ।