लचिलो मौद्रिक नीति आउने संकेतले लगानीकर्ता उत्साहित, शिथिल अर्थतन्त्र र पुँजीबजारमा फर्किएला रौनक ?

२४ असार २०८१, सोमबार ११:५४

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिको चटारो चली रहेको छ । मौद्रिक नीतिका लागि अहिले सरोकारवाला निकायहरूसँग सुझाव सङ्कलन गर्ने काममा केन्द्रीय बैंकले व्यस्त भएको हो । पछिल्लो समय अर्थतन्त्र मन्दीको स्थितिमा रहँदा ध्यान मौद्रिक नीतिमा केन्द्रित छ ।

मौद्रिक नीतिप्रति धेरै क्षेत्रले ठुलो अपेक्षा गरेका छन् । थला परेको व्यापार व्यवसायलाई चलायमान बनाउनका लागि सबै सेक्टरको ध्यान राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमा पर्ने थालेको छ । अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति आउने धेरैको अपेक्षा छ भने केन्द्रीय बैंकले पनि सोही अपेक्षाअनुसार मौद्रिक नीति जारी गर्ने संकेत गर्दै आएको छ । कोभिड–१९ महामारीपछि आर्थिक पुनरुत्थानका लागि भन्दै राष्ट्र बैंकले ‘लचिलो तथा विस्तारकारी मौद्रिक नीति’ ल्याएको थियो । उक्त लचिलो मौद्रिक नीतिले बजारमा नगद प्रवाह वृद्धि हुँदा अर्थतन्त्र चलायमान भए पनि लगानी अनुत्पादक क्षेत्र र उपभोग्य वस्तुको आयातमा बढी प्रयोग हुँदा बिस्तारै त्यसको नकारात्मक असर अर्थतन्त्रमा देखा गर्ने थाल्यो ।

अर्थतन्त्र असहज स्थितिमा देखिएपछि केन्द्रीय बैंकले पनि कसिलो मौद्रिक नीति अवलम्बन गरेको थियो । जसले गर्दा सरकारी राजस्व घट्दा अर्थतन्त्रमा सुस्तता छाएको थियो । अब भने बिस्तारै अर्थतन्त्रले लय समाली रहेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समेत मौद्रिक नीति केही लचिलो ल्याउने संकेत बेला बेला सार्वजनिक कार्यक्रममा नै गर्दै आइरहेका छन् । उनको त्यो संकेतले निजी क्षेत्र र पुँजी बजारका लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको छ ।

मख्ख पुँजी बजारका लगानीकर्ता

मौद्रिक नीतिको कसिलो नीतिले सबैभन्दा बढी प्रभावित पुँजी बजार बन्यो । शेयर बजार पछिल्लो केही वर्ष यता नीतिगत चेपुवामा परेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैतमा सकिँदैछ । गभर्नर अधिकारी आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा जुटेका हुन् । साउन पहिलो साता भित्र मौद्रिक नीति सार्वजनिक गर्ने गरी केन्द्रीय बैंक तयारीमा जुटेको हो ।

प्रायः शेयर बजारका लगानीकर्ता अधिकारीसँग जहिले पनि रुष्ट हुँदै आइरहेका छन् । पुँजी बजार सुधारका लागि गभर्नर अधिकारीको भूमिका उदासीन रहेको लगानीकर्ताको आरोप रहेको छ । राष्ट्र बैंकको कडा नीतिको कारण शेयर बजारलाई निरन्तर धक्का लागि रहेको लगानीकर्ताहरूका तर्क छन् ।

अब भने राष्ट्र बैंकले लचिलो नीति ल्याउनेमा शेयर बजारका लगानीकर्ता आशावादी बनेका छन् । गभर्नर महाप्रसाद अधिकारीले बेला बेला दिएको तर्कले शेयर बजारका लगानीकर्तालाई उत्साहको माहोल बनाएको छ । केन्द्रीय बैंकले शेयर बजारमा बाधा गर्ने केही नीति फुकुवा गरे पुँजी बजार अबको एक वर्षमा ३२ सय बिन्दु छुने शेयर लगानीकर्ता दीपेन्द्र अग्रवालले बताए । उनले भने, ‘नयाँ सत्ता समीकरणले सरकार र गर्भनरको तालमेल मिल्छ । मौद्रिक नीति मार्फत नीतिगत बाधाहरू सबै फुकुवा भयो भने बजारले अबको एक वर्षमा ३२ सय बिन्दु छुने छ ।’

लगानीकर्ता नयाँ सत्ता समीकरणले समेत उत्साहित बनेका छन् । संसद् ठुला दुई दल एमाले र काँग्रेसको सत्ता समीकरणले अधिकांश लगानीकर्ताले स्वागत गर्दै आइरहेका हुन् । नयाँ सत्ता समीकरणले नियामक निकायबिच समन्वय बढ्ने हुँदा बजारले नयाँ गति लिन नेपाल ईन्भेस्टर्स फोरमका पूर्व अध्यक्ष छोटेलाल रौनियारले बताए । उनले भने, ‘नयाँ सत्ता समीकरण पछि नयाँ सरकारको नेतृत्वमा केपी शर्मा ओली आउने र अर्थमन्त्रालय समेत एमालेको भन्ने कुरा छ । उता, राष्ट्र बैंकका गभर्नर समेत एमाले निकट हुन् । नियामक निकायहरूको समन्वय बढ्ने हुँदा बजारले नयाँ गति लिन्छ ।’

लगानीकर्ता अग्रवालले पनि एमाले सरकार आउँदा मौद्रिक नीति लचिलो आउने बताउँदै नयाँ सत्तालाई लगानीकर्ताले स्वागत गरे । ‘एमाले सरकार बन्दा गभर्नर अधिकारीले मौद्रिक नीति पक्कै लगानीकर्तामैत्री ल्याउँछन् । जसले गर्दा बजारलाई नयाँ उचाइ कायम राख्छ । म नयाँ बन्न लागेको सरकारप्रति निकै सकारात्मक रहेको छु’अग्रवालले भने ।

अबको मौद्रिक नीति मार्फत गभर्नर अधिकारीले पुँजी बजारका लगानीकर्तालाई सम्झिने गरी छाप छोड्नु पर्ने लगानीकर्ता राधा पोखरेलले बताइन् । उनले भनिन्, ‘अबको मौद्रिक नीति मार्फत हामीले धेरै आशा गरेका छौ । गर्भनरको कार्यकाल समेत धेरै छैन । शेयर बजारका ६० लाखभन्दा बढी लगानीकर्ताका लागि सम्झिने बनाउनु हुन्छ कि नर्बिसिने बनाउनु हुन्छ त्यो उहाँको हातमा छ ।’

शेयर बजारका लागि लचिलो नीति ल्याउनेमा गभर्नर सकारात्मक रहेको राष्ट्र बैंकको स्रोतले बताएको छ । ‘शेयर बजारलाई बाधा गर्ने नीति फुकुवा गर्नेमा गभर्नर सकारात्मक छन् । बेला बेला बैठकमा समेत उनले यो कुरालाई उठाउँदै आएका छन् । चौतर्फी आलोचना खेप्दै आएका गभर्नर ज्यूले यस पटक शेयर लचिलो नीति ल्याउने सङ्केत दिइरहेका छन्’ स्रोतले भन्यो, ‘अर्थतन्त्र बिस्तारै लयमा आइरहेको छ । अब केही बाँधिएका नीति फुकुवा गर्ने गभर्नर सकारात्मक छन् । केही त पक्कै पुँजी बजारका लागि सकारात्मक कुरा आउनेछ ।’

लगानीकर्ताले मौद्रिक नीति मार्फत शेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतलाई १०० प्रतिशत र १५ करोड र २० करोडको सीमा हटाउनु पर्ने माग लामो समयदेखि उठाउँदै आएका छन् । यता, लाभांश वितरणमा माइक्रोफाइनान्सलाई लगाएको क्याप पनि हटाउनु पर्ने माग लगानीकर्ताको रहँदै आएको छ ।

नयाँ सत्ता समीकरणले उत्साहित शेयर बजारका लगानीकर्ता, के नयाँ उचाई कायम राख्ला ?

बैंकिङ सेक्टरले के खोजेको छ ?

बैंक तथा वित्तीय संस्थाको अहिलेको मुख्य समस्या भनेको नै खराब कर्जा हो । पछिल्लो समय बैंकको ऋण तिर्नु हुँदैन भनी बैंकिङ क्षेत्रमा चौतर्फी प्रहार भइरहेको छ । जसले गर्दा बैंकको खराब कर्जा निरन्तर वृद्धि हुँदै गएको अवस्था छ । पछिल्लो ३ वर्षदेखि ‘आरओआई’ निरन्तर घटिरहेकाले बैंकिङ क्षेत्र यही अवस्थामा सधैँभरि चल्न सक्ने वा नसक्ने विषयमा गम्भीर भएर सोच्न आवश्यक रहेको छ ।

खराब कर्जा अनुपात बढेकै कारण थप समस्या आएको भन्दै यसलाई नियन्त्रण गर्ने किसिमको नीति लिन केन्द्रीय बैंकलाई नेपाल बैंकर्स संघ अध्यक्ष सुनिल केसीले सुझाव दिएका छन् । निर्माण क्षेत्रमा प्रवाह भएको ऋणको सबैभन्दा बढी खराब कर्जा रहेको र यस क्षेत्रकै कर्जा सबैभन्दा धेरै पुनर्तालिकीकरण गरिएकाले निर्माण क्षेत्रलाई माथि उकास्नुपर्नेमा उनले राष्ट्र बैंकसँग माग गरेका हुन् ।

आन्तरिक अर्थतन्त्र चलायमान बनाएर कर्जा प्रवाह बढाउने नीति लिन केन्द्रीय बैंकलाई बैंकिङ क्षेत्रले सुझाव दिर्दै आइरहेका छन् । आम व्यवसायीको मनोबल उच्च बनाउने गरी राष्ट्र बैंकले अबको मौद्रिक नीति ल्याउनु पर्ने दबाब चौतर्फी उठ्दै आइरहेको छ ।

One thought on “लचिलो मौद्रिक नीति आउने संकेतले लगानीकर्ता उत्साहित, शिथिल अर्थतन्त्र र पुँजीबजारमा फर्किएला रौनक ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*