अर्थमन्त्री वर्षमान पुनलाई अर्थमन्त्रालयभित्रै असहयोग ! कर्मचारीहरुको गुटबन्दी
काठमाडौं । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने सम्झौता गरेसँगै अर्थमन्त्रालयमा अर्थमन्त्री वर्षमान पुनलाई असहयोग गर्ने क्रम बढेको छ ।
यसअघि माफिया र दलालको घेराबन्दीमा परेका अर्थमन्त्री वर्षमान पुन सरकारले यही असार २८ गते विश्वासको मत लिँदै गर्दा आफ्नै कर्मचारीहरुको असहयोगको सिकार भएका छन् । आर्थिक वर्ष सकिनै लाग्दा अर्थमन्त्री पुनलाई कर्मचारीहरुले असहयोग गर्दा कैयौं भुक्तानीहरु रोकिएका छन् । जसको प्रत्यक्ष असर सेवाग्राहीहरुमा पर्न गएको छ ।
आर्थिक वर्षको अन्तिम हिजो शनिबारसम्ममा जम्मा १ खर्ब ५३ अर्ब रुपैयाँ मात्रै पुँजिगत खर्च भएको देखिएको हो । उक्त रकम हालसम्मको चालु आवको लागि छुट्याएको बजेट मध्येको जम्मा ५० प्रतिशत मात्रै हो ।
अर्थ मन्त्रालयमा रहेका कांग्रेस एमालेका समर्थित कर्मचारीरुहरुले वर्तमान अर्थमन्त्री वर्षमान पुनलाई असहयोग गरिरहेका छन् । स्रोतका अनुसार अर्थमन्त्रीले केही काम गर्न खोज्दा टिप्पणी समेत उठाउन मानेका छैनन् । अर्थमन्त्रालयले बजेट निकाशा गर्ने सन्दर्भमा समेत कर्मचारीहरुले खुलेर अर्थमन्त्री पुनलाई असहयोग गरिरहेका छन् । अबको केही दिनमा नयाँ सरकार आउने र नयाँ सरकारले यस अवधीमा भएका कामहरुको जिम्मेवार बनाउने भन्दै कर्मचारीहरुले अर्थमन्त्री पुनलाई सहयोग गर्न छोडेका छन् ।
स्रोतका अनुसार एमाले र कांग्रेस समर्थित कर्मचारीहरुको बैठक नै बसेर अर्थमन्त्रालयमा कुन कुन काम गर्ने र कुन कुन कुरा नगर्ने भनेर सल्लाह गरेरै अर्थमन्त्रीलाई असहयोग गरिएको बुझिएको छ । गर्नैपर्ने, अनिवार्य दायित्व भित्रका काम विहान पहिलो सत्रमा आएर गर्ने र बाँकी अर्थमन्त्रीले चाहेका कामहरु नगर्ने सल्लाह गरिएको बुझिएको छ ।