देशैभरि बाढी पहिरोबाट ठूलो धनजनको क्षति, बीमा कम्पनीमा दावीको त्रास

२३ असार २०८१, आईतवार ०९:३८

काठमाडौं । पछिल्लो ४८ घण्टादेखि परेको पानीका कारण देशैभरि ठूलो धनजनको क्षति भएको छ । पछिल्लो दुई दिनमा ११ जनाको निधन भएको छ भने अर्बौको भौतिक सम्पत्तिमा क्षति पुगेको छ । बाढी पहिरोका कारण ठूलो धनजनको क्षति हुँदै गर्दा बीमा कम्पनीहरुमा भने बीमा दावी बढ्ने चिन्ता फैलिाएको छ ।

निर्जीवन बीमा कम्पनीहरुमा बाढी पहिरोका कारण पुगेको भौतिक क्षतिको दावी बढ्दो मात्रामा रहेको बीमा कम्पनीहरुले जनाएका छन् । बाढीका कारण सडक, पुल, जल विद्युत आयोजनाहरुमा बढी क्षति पुगेकोले बीमा दावी पनि अर्बौ रुपैयाँको पर्ने सम्भावना रहेको बीमा कम्पनीहरु नै स्वीकार गर्दछन् । त्यस्तै गोदाममा स्टक राखिएको मालबस्तु भिजेर हुनसक्ने क्षति, सवारी साधनमा पुगेको क्षति, ढुवानीको क्रममा पुग्ने क्षति जस्ता बीमा दावीहरु आइरहेका छन् ।

पछिल्लो समय सरकारले बाढी पहिरोको पूर्वानुमान नै गरेर उद्धार तथा राहतको लागि व्यवस्था गरेको थियो । त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले पनि बाढी पहिरोसँगै बीमा दावी पर्ने सम्भावनालाई ध्यान दिएर दावी विभाग र सर्भेयरहरुलाई उच्च सतर्कतामा राखेर अनुगमन गरिरहेका छन् ।

यस वर्ष जल विद्युत सम्बन्धी आयोजनमा धेरै क्षति पुगेकोले सो क्षेत्रबाट धेरै नै बीमा दावी पर्ने विश्वास गरिएको छ । बाढीका कारण हालसम्म ६५० मेगावाट आयोजना बन्द हुन पुगेको र यसको क्षतिबारे अध्ययन सुरु गरिएको विद्युत प्राधिकरणको भनाई छ । सो क्षति पुगेका आयोजना अधिकांशको बीमा दावी पर्ने सम्भावना रहेको छ ।

बीमा प्राधिकरण र उर्जा उत्पादक संघ बीमा लामो समयदेखि चल्दै आएको विवादका कारण कतिपय कम्पनीहरुले बीमा नगरेको हुनसक्ने र त्यसको असर जलविद्युत आयोजनामा पर्ने सक्ने सम्भावना छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*