अमृत, पकवान र फेमिली ब्रान्डको सोयाबिन तेल खान अयोग्य

२१ असार २०८१, शुक्रबार १२:४४

काठमाडौँ । अन्नपूर्ण भेजिटेबल प्रोडक्ट प्रालिले उत्पादन गरेको अमृत, शिवशक्ति घ्यु उद्योगले उत्पादन गरेको फेमिली र श्रीराम रिफाईण्ड आयल प्रोडक्टर उत्पादन गरेको पकवान ब्रान्डको सोयाबिन तेल लगायत खानेतेल उपभोगका लागि अयोग्य रहेको पाइएको छ । नेपालका तेल उद्योगहरूले उत्पादन गरेको १३ वटा ब्राण्डका खाने तेलको नमुना परीक्षण गर्दा ४ वटा ब्रान्डका तेलहरू खान अयोग्य भेटिएका हुन् । काठमाडौँ महानगरपालिकाले गरेको अनुगमन र परीक्षणका क्रममा तेलमा नेपाल सरकारले तोकेको पेरोक्साइड भ्यालु धेरै भएर खान अयोग्य पाइएको हो ।

मोरङ्कको श्रीराम रिफाइन्ड आयल प्रोडक्टले २०८० पुस २७ गते उत्पादन गरेको पक्वान व्राण्डको ब्याच.लट नं.एस–२ को रिफाइन सोयाविन आयलमा मापदण्डभन्दा धेरै पारोक्साइड भ्यालु र एसिड भ्यालुको मान बढी भएको पाईएको हो ।

२०८० कार्तिकमा उत्पादन भएको अमृत ब्रान्डको ब्याच, लट नं.११ को रिफाइन सोयाबिन आयल र २०२४ अप्रिल महिनामा उत्पादन भएको क्वालिटी व्राण्डको ब्याच लट नं. ०८ को रिफाइन सोयाबिन आयलमा सरकारले तोकेको मापदण्ड नपाइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । यस्तै २०८० साल माघमा उत्पादन भएको, ब्याच, लट नं.१० को फेमिली ब्रान्डको आयातीत तोरीको गेडाबाट स्वदेशमा उत्पादन भएको तोरीको तेलमा पारोक्साइड भ्यालु मापदण्डमा नरहेको पाइएको, कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए । काठमाडौँ महानगरपालिकाले मापदण्डमा नरहेका तेल ३ दिनभित्र फिर्ता ल्याउन, फिर्ता ल्याइएको तेल नष्ट गरिएको प्रमाणसहित महानगरपालिकामा उपस्थित हुन पत्राचार गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*