कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँः अर्थमन्त्री पुन

२१ असार २०८१, शुक्रबार १२:२८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारले कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आगामी वर्षको बजेटमार्फत कृषि उत्पादनलाई नीतिगत रूपमा संरक्षण गर्ने, कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको बताए । सरकारले लिएको नीतिले कृषिको आधुनिकीकरण, व्यवसायीकरणमा योगदान पुग्ने पुनले विश्वास व्यक्त गरे । सरकारले २०८१/२०८२ लाई कृषि दशक घोषणा गरेको उल्लेख गर्दै राजनीतिक नेतृत्व र मन्त्रीहरू फेरिए पनि नीति नफेरिने उनको भनाइ छ ।

‘कृषि उत्पादनलाई नीतिगत रूपमा संरक्षण गर्ने, कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको छ । यसले हाम्रो आफ्नो कृषिको आधुनिकीकरण, व्यवसायीकरणमा योगदान पुग्छ’ अर्थमन्त्री पुनले भने, ‘कृषक र उद्यमी साथीहरूलाई यसले संरक्षण गर्छ, प्रतिस्पर्धी बनाउँछ ।’

नीतिगत स्थायित्व भए मात्रै देश विकास हुने अर्थमन्त्री पुनले बताए । चालु आर्थिक वर्षमा कृषि उत्पादनहरूमा भ्याट लगाइएको भए पनि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएको उनले बताए ।

उनले भने, ‘यो वर्ष हामीले पाँच वटा रुपान्तरण क्षेत्र मध्य आईटी क्षेत्रलाई अगाडि सारेका छौं । आईटी क्षेत्र गएको वर्ष ६६ अर्वको निर्यात भयो । यो वर्ष कम्तीमा पनि एक खर्ब निर्यात हुन्छ आईटी क्षेत्रको सेवा ।’ उनले कृषि औद्योगिकरणमा गएपनि कृषि क्षेत्रको सेवाबाट औद्योगिकरणमा जाने बाटो सहज नभएको उनको भनाई छ । अर्थमन्त्री पुनले उत्पादनपछिको अनुदान व्यवहारिक हुने भन्दै विगतका अनुदान नीतिहरुको सदुपयोग नभएको धारणा राखे ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*