३ अर्ब लागतमा आयल निगमको नयाँ भण्डारणगृह निर्माण हुँदै
काठमाडौँ । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारणगृह निर्माण प्रक्रिया तीव्रगतिमा अघि बढाएको छ ।
ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा धमाधम तटबन्ध निर्माणसँगै जमिन सम्याइँदै छ । हालसम्म ७० प्रतिशत सम्पन्न भएको छ । पछिल्लो ५० वर्षको बाढीको अवस्थालाई आकलन गरेर रोहिणी खोलामा तटबन्धको काम अघि बढाइएको छ।
प्रारम्भिक चरणमा सातवटा ‘प्याकेज’ बनाएर बोलपत्र आह्वान गरिएको छ । काठमाडौँस्थित शुभश्री सर्वश्री जेभीले पहिलो र दोस्रो, वीरगञ्जस्थित उज्यालो निर्माण सेवाले तेस्रो तथा प्रिजन कन्ट्रक्सनले बाँकी चारवटा प्याकेजको ठेक्का पाएको छ । करिब आठ करोडमा ती ठेक्का लगाइएको हो ।
तटबन्ध निर्माण तथा जग्गा पुर्ने कामलाई निर्धारित समयभित्रै सम्पन्न गर्न दैनिक दुई सिफ्टमा काम भइरहेको छ । पहिलो सिफ्टमा बिहान ६ देखि ११ र दोस्रो सिफ्टमा साँझ ५ देखि ११ बजेसम्म निर्माणका काम चलिरहेको छ । ग्याबिन लगाउने तथा जग्गा पुर्ने काममा दैनिक दुई सय कामदार खटिइएका छन् । ३ अर्ब लागतमा भण्डारणगृह निर्माण गरिने भण्डारणगृह निर्माण परियोजनाका संयोजक इन्जिनियर प्रदीप यादवले जानकारी दिए ।