मंसिरमा बीमा, जेठमा पोलिसी सोधखोज, असार १ गते चोरी, १७ गते पक्राउ, कसरी जोगियो बीमा कम्पनीको साढे दुई करोड ?

१९ असार २०८१, बुधबार ११:२२

काठमाडौं । बीमाबाट रकम क्षतिपूर्ति लिन मानिसकै हत्या गर्ने मात्रै होइन, आफ्नै पसल समेत चोरी हुन थालेको छ । पछिल्लो समय बीमा दावी भुक्तानीका लागि बीमा कम्पनीहरुले सम्भावित अपराधको दृष्टिकोणबाट समेत हेर्नुपर्ने भएको छ । तर, त्यसैका लागि बीमितलाई दिइने दावी भुक्तानीमा भने ढिलाई गर्न पाइदैन ।

पछिल्लो समय चितवनमा घटेको एउटा घटनाले निर्जिवन बीमा क्षेत्रमा पनि अपराध बढ्न थालेको देखाएको छ । चितवनको कालिकानगर ६ खोलेसिमलमा रहेको बिनोद सुनचाँदी पसलमा भएको लूटपाटको घटनाले बीमा दावी भुक्तानी सम्बन्धी घटनामा अपराधको दृष्टिकोणबाट समेत हेर्नुपर्ने भएकोछ । सिंगो बीमा क्षेत्रलाई झस्काउने उक्त घटना बीमा कम्पनीकै शाखा कार्यालयको भुई तल्लामा रचना गरिएको थियो ।

चिवतनको खोले सिमलमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय रहेको छ । सो क्षेत्रको व्यवसाय प्रायः सबै सोही शाखा मार्फत हुने गर्दछ । सोही शाखा कार्यालयको तल तीन वटा सटरमा बिनोद सुनचाँदी पसल सञ्चालित छ । केही पर कुमारी बैंक पनि छ । बिनोद विश्वकर्माले गत मंसिरमा कुमारी बैंकबाट ऋण लिए । सो क्रममा उनको पसल तथा घरको बीमा गर्नुपर्ने भयो । उनले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा बीमा गरे । जसमा साढे दुई करोड रुपैयाँको स्टक (सुन चाँदी) तथा साढे दुई करोडको भवनको बीमा गरे ।

दुई फरक फरक पोलिसी लिएका विश्वकर्माले गत जेठमा खोलेसिमलस्थित शाखा कार्यालयमा गएर आफ्नो बीमा पोलिसी मागेर लिएका थिए । बीमा पोलिसी किन मागे भनेर सोध्ने कुरा पनि भएन । कुरा सकियो । गत असार १ गते आफ्नै शाखा कार्यालयको तल रहेको सुन पसल लुटिएको समाचार आयो । बीमा कम्पनीकै एक कर्मचारीले राति १०ः३० बजेतिर बिनोद विश्वकर्मालाई टेलिफोन गरी पसल लुटिएकोबारे सोधेका थिए । उतिबेला बिनोद विश्वकर्माले लुटपाट भएको हो मात्रै भनेर फोन राखिदिए । भोलिपल्ट घटनास्थलमा प्रहरी आयो । वरपरको सिसीसिसी टिभी फुटेज समेत संकलन गरेर हेर्दा घटनामा चोरी भएकै देखियो । शंकास्पद त थियो । तर, शंका गर्ने ठाउँ भने थिएन । भोलिपल्टै बीमा कम्पनीका सर्भेयर पनि घटनास्थलमा के भएको रहेछ भनेर बुझ्न पुगे । सर्भेयरले पनि सिसीटिभी फुटेज हेर्दा चोर भएको होइन भन्न सकेनन् । बीमा कम्पनीमा बिनोद विश्वकर्माले दावी भुक्तानीको लागि आवेदन दिए । कम्पनीले उनलाई प्रहरीले प्रतिवेदनदेखि आवश्यक कागजात पेश गर्न भन्यो ।

बरामद भएको सुन तथा चाँदीका गहना देखाउँदै प्रहरी

प्रहरीले बीमा दावी पर्ने भन्ने बुझेपछि ‘त्यतिकै किन दिने भनेर हामीले थप अध्ययन सुरु गर्यौं, करोडौंको कुरा छ, नियोजित रहेछ भने पब्लिक कम्पनीको करोडौं रुपैयाँ गुम्छ, अलि विस्तृतमा हेरौं भन्ने निर्णय भयो, चितवनका प्रहरी प्रबक्ता डिएसपी भेषराज रिमालले भने । ‘चोरी गर्ने क्रममा खसालेको ७७६.८० ग्राम सुन हामीले बरामद गरिसकेका थियौं । बाँकी सुन कहाँ छ भनेर हामीले विस्तृतमा हे¥यौं । सुरुमा कामदार पक्राउ गरेर सुरु गरिएको अनुसन्धानमा केही प्रश्नहरु त थिए तर एकिन भइसकेको थिएन ।

यही असार १७ गते पसलका सञ्चालक र मुख्य योजनाका बिनोद विश्वकर्मालाई पक्राउ गरेर बयान लिएपछि थप कुरा खुल्यो । बीमाको रकम लिन यसरी चोरीको घटना रचिएको र चोरी गर्ने जिम्मेवारी पाएका पवन कुमार पासवानलाई ५० हजार रुपैयाँ दिएर भाडाको चोर प्रयोग गरिएको समेत खुल्यो । त्यस्तै, बिनोद विश्वकर्मा आफैले पसलमा बसेर चोरी गर्न आएका चोरहरुलाई सहयोग गर्दै गहना दिएर पठाएको खुलेको छ । चोरीमा संलग्न पवन पासवानले बिनोदले भने बमोजिम अन्जना पुडासैनीको घरमा पुर्याई गहना लुकाएको र त्यसको दुई दिनपछि फेरि बिनोद विश्वकर्माले नै लिएर गएको समेत प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रहरीका अनुसार उनले मंसिरमा बीमा गरेका थिए । गत जेठ महिनामा बिनोदले बीमा पोलिसीबारे सोधखोज गरेका थिए । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अनुसार असारमा १ गते चोरी भएको भन्दै बीमा कम्पनीमा बीमा दावी परेको थियो ।

अभियुक्तहरुमाथि हाल प्रहरीले अनुसन्धानको सिलसिलामा छ दिनको म्याद लिई विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बिनोद विश्वकर्माले कुमारी बैंकबाट ऋण लिँदा उक्त सुन पसलको चोरी र स्टकको जोखिम बहन हुने गरी साढे दुई करोड रुपैयाँको बीमा पोलिसी काटेका थिए । सो बापत उनले करिब एक लाख रुपैयाँ बीमा शुल्क बुझाएका थिए । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले पहिलो पटक बिनोद विश्वकर्माको बीमा गरेको थियो । बीमा दावी परेपछि कम्पनीले दावी भुक्तानी र अनुसन्धान एकसाथ अघि बढाइरहेको थियो । त्यही बीचमा प्रहरी अनुसन्धान निष्कर्षमा पुग्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी र पुनर्बीमा कम्पनीहरुको साढे दुई करोड रुपैयाँ जोगिन पुगेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*