प्रहरी सतर्कताले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साढे दुई करोड जोगियो, बीमा दावी लिन आफ्नै सुन पसलमा लुटपाट

१९ असार २०८१, बुधबार १०:४५

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनको सतर्कताले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको दुई करोड ५० लाख रुपैयाँ जोगिन पुगेको छ । नियोजित रुपमा आफ्नै सुन पसलमा लुटपाटको कृत्तिम घटना गराई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीबाट दुई करोड ५० लाख रुपैयाँ दावी भुक्तानी लिन खोज्ने बिजय विश्वकर्माको प्रयास असफल भएको छ । बीमा कम्पनीबाट दावी भुक्तानी लिने उद्देश्यले नक्कली चोरीको घटनामा संलग्न पाँच व्यक्तिलाई पक्राउ गरेको छ भने चोरी भएको भनिएको सहित एक किलो ७३४ ग्राम सुन र केही चाँदी बरामद गरेको छ ।  प्रहरीका अनुसार दुई करोड १७ लाख ५४ हजार ४१५ रुपैयाँ बराबरको सुन तथा चाँदीका गहना बरामद भएको छ ।
गत असार १ गते घटाइएको उक्त घटनामा तीन किलो सुन, ३५ किलो चाँदी र दुई लाख रुपैयाँ नगद लुटपाट भएको भनिएको थियो । प्रहरीले पेस्तोलजस्तो चिज देखाई लुटपाट गरिएको र दुई जनाको संख्यामा आएको लुटेराको समुहले पसलमा जडान गरिएको सिसीसिसी क्यामेराको हार्डडिस्क समेत खोलेर लगेका थिए ।

सुरुमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर छानविन गरिरहेको थियो । उक्त घटनामा प्रहरीले कुनै मेसो पाउन सकिरहेको थिएन । यही बीचमा पीडित भनिएका बिजय विश्वकर्माले प्रहरी कार्यालयमा घटनामा बीमा गरिएको र बीमा दावी भुक्तानीको लागि प्रक्रिया सुरु गरे । प्रहरीलाई सुरुदेखि नै घटना शंकास्पद लाग्दै आएको थियो । साँझ छ बजे बन्द हुनुपर्ने पसलमा राति ८ः३० बजेतिर चोरी भएको भनिएको थियो । त्यस्तै हरेक महिनाको १ गते खोलेसिमलका सम्पूर्ण पसल बन्द हुने दिन पनि उक्त सुन पसल खोलिएको थियो ।

पसलका मालिकबाटै शंकास्पद गतिविधि भएको र बीमा कम्पनीमा बीमा दावीका लागि सिफारिस माग भएपछि प्रहरीले थप अनुसन्धानको लागि सिआईबीको टोलीको सहायता लिने निर्णय गरेर अनुसन्धान थप बलियो बनाउँदै लैजाने निर्णय गर्यो । सिआईबीसहितको टोली चितवन पुगेर अनुसन्धान सुरु गरे लगत्तै घटनाका केही पाटोहरु बाहिर आउन थाल्यो । सुरुमै मालिकबाटै अनुसन्धान सुरु गरिएको थियो ।

घटनाको १७ औं दिन गत सोमबार जिल्ला प्रहरी कार्यालय चितवनले उक्त घटनामा बीमा दावी रकम लिन नियोजित रुपमा रचिएको लुटपाट भएको तथ्य प्रमाणसहित संलग्न पाँच जना व्यक्तिहरुलाई पक्राउ गर्न सफल भयो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी भेषराज रिमालका अनुसार बिनोद सुनचाँदी पसलका मुख्य सञ्चालक बिजय विश्वकर्मा, बिनोद सुनार, गुप्त विश्वकर्मा, पूर्ण बहादुर विश्वकर्मा, पवन कुमार पासवान र अन्जना पुडासैनी केसीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चोरी भएको सुनका गहना सहित लुकाउने कार्यमा सहयोग गर्ने अन्जना पुडासैनी केसीलाई पनि पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका एससपी भावेष रिमाल, डिएसपी भेषराज रिमालसहितका प्रहरी अधिकारीहरुले घटनालाई आफ्नो जीवनको करिअरसँग जोडेर नक्कली चोरी भएको हुनसक्ने आशंकाले हेरे । सिआईबीको टोली बोलाएर अनुसन्धान गर्दा अन्ततः पुष्टि भयो । प्रहरीको सक्रियताले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको साढे दुई करोड रुपैयाँ जोगिन पुगेको छ ।

पक्राउ भएका व्यक्तिहरुको विवरण:

१) नाम थर : बिनोद सुनार उमेर : ३५ ठेगाना : जिल्ला चितवन, कालिका न.पा., वडा नं. ६ बुबाको नाम: बाडा सुनार पक्राउ मिति : २०८१/०३/१७ गते भुमिका : बिनोद सुन चाँदी पसलका संचालक (आफै मुख्य योजनाकार)

२) नाम थर : विजय विश्वकर्मा उमेर : २५ ठेगाना : जिल्ला चितवन, कालिका नगरपालिका वडा नं. ०७ बुबाको नाम: गुप्त विश्वकर्मा पक्राउ मिति : २०८१/०३/१७ गते भुमिका : बिनोद सुन चाँदी पसलका मेनेजर (चोरी गर्न सहयोग गर्ने)

३) नाम थर : पुर्ण बहादुर विश्वकर्मा उमेर : ५० ठेगाना : जिल्ला तनहुँ, म्याग्दी गा.पा. वडा नं. ०७ बुबाको नाम: हर्क बहादुर कामी पक्राउ मिति : २०८१/०३/१८ गते भुमिका : बिनोद सुन चाँदी पसल चोरी गर्ने व्यक्ति

४) नाम थर : पवन कुमार पासवान उमेर : १८ वर्ष ठेगाना : जिल्ला बारा बारागढी न.पा. वडा नं. ०४ बुबाको नाम: रविन्द्र पासवान पक्राउ मिति : २०८१/०३/१८ गते भुमिका : बिनोद सुन चाँदी पसल चोरी गर्ने व्यक्ति

५) नाम थर : अन्जना पुडासैनी के.सी. उमेर : ४२ ठेगाना : जिल्ला चितवन, कालिका न.पा., वडा नं. ६ बुबाको नाम: पर्शुराम पुडासैनी पक्राउ मिति : २०८१/०३/१७ गते भुमिका : बिनोद सुन चाँदी पसलका संचालक बिनोद सुनारको मिल्ने साथी (चोरी गरेको धनमाल लुकाउन सहयोग गर्ने)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*