विवादित रिलायन्स स्पिनिङ्ग मिल्सले असार २७ देखि वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने

१९ असार २०८१, बुधबार ०७:४९

काठमाडौं । सर्वसाधारणलाई अत्यधिक महंगोमा बुक बिल्डिङ आईपीओ निष्काशनको अनुमति पाएको रिलायन्स स्पिनिङ्ग मिल्सले वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने मिति तय गरेको छ । आज प्रकाशित सूचना अुनसार कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि असार २७ देखि साउन १० गतेसम्म आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

नेपाल विद्युत प्राधिकरणको ७५ करोड रुपैयाँ (पछिल्लो संशोधनसहित) बक्यौता बाँकी रहेको रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ निष्काशन प्रक्रिया जबर्जस्ती अघि बढेको हो । कम्पनीले प्राधिकरणलाई तिर्नुपर्ने ७५ करोड रुपैयाँ बक्यौता हिसाब नगरी आईपीओ निष्काशन पश्चात् सर्वसाधारणलाई भार पार्ने रणनीति तय गरेको छ ।

कम्पनीले सार्वजनिक निष्काशन गरिने ११ लाख ५५ हजार ९६० कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात् एक लाख १५ हजार ५९६ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपिओ निष्काशन गर्न लागेको हो ।

यसमा खरीदकर्ताले न्यूनतम ५० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । यसको अंकित मूल्य १०० रुपैयाँ रहेतापनि प्रतिशेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा रहेको छ । कम्पनीले बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३)को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँड गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो। यसका आधारमा ५० कित्ता शेयरका लागि आवेदन दिन ४१ हजार ४० रुपैयाँ लाग्नेछ ।

यदी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूको लागि निष्काशन गरिएको शेयर सम्पूूर्ण रूपमा बिक्री नभई बाँकी रहेमा बाँकी रहेको शेयर समेत समायोजन गरी सर्वसाधारणमा आईपीओ निष्काशन गरिने जनाएको छ । यसमा धितोपत्र तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.७५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.६१ वर्ष रहेको छ ।

शेयर निष्काशन का लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल ए माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी भएको बुझाउँछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सोका तोकिएका शाखा कार्यालयहरूका साथ मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*