अप्ठेरोमा कांग्रेस एमाले गठबन्धन, राष्ट्रियसभामा अल्पमत, उपेन्द्र यादव निर्णायक

१९ असार २०८१, बुधबार ०७:०१

काठमाडौं । सोमबार मध्यराति नयाँ सत्ता सहकार्य गर्ने घोषणा गरेका कांग्रेस र एमाले आफै अल्पमतमा छन् । प्रतिनिधि सभाको मात्रै हिसाब गरेका उनीहरुले जब राष्ट्रिय सभामाको गणितमा हिसाब गर्न थाले तब हिसाब किताब मिलेन । ५९ सिट भएकाे राष्ट्रियसभामा दुवै दल जाेड्दा पनि बहुमत पुग्दैन ।

प्रतिनिसभामा कांग्रेस र एमालेको झण्डै दुई तिहाई भएपनि राष्ट्रिय सभामा यी दुई दल सबै मत जोड्दा पनि बहुमत पुग्दैन । प्रतिनिसभामा बहुमत पुर्याएर नयाँ सरकार, नयाँ प्रधानमन्त्री बनाउन त सकिन्छ तर सरकारलाई आवश्यक विधेयकहरु पारित गर्न राष्ट्रिय सभामा पनि बहुमत आवश्यक पर्दछ ।

पछिल्लो अंक गणित अनुसार नयाँ प्रधानमन्त्री बन्ने भनेर हिडेका केपी ओलीका लागि आगामी यात्रा सम्भव भएपनि कांग्रेस एमालेको सत्ता गठबन्धनमा उपेन्द्र यादवको पार्टी जनता समाजवादी नेपाल बिनाको यात्रा भने सम्भव छैन । केपी ओलीकै डिजाईनमा उपेन्द्र यादवको पार्टी फोरिएकोले यादव तत्कालै एमाले कांग्रेस मिलेर बन्ने सरकारमा सहभागी हुन्छन कि हुन्नन् त्यो निर्णय हुन बाँकी नै छ ।

धेरैले ख्याल नगरेको राष्ट्रिय सभाको अंक गणित अनुसार माधव नेपाल र माओवादीको सहमति बिना दुई तिहाई पुग्न नसक्ने हुँदा संविधान संशोधन केवल नारा मात्रै हुनेछ । २७५ सिटको प्रतिनिधि सभामा कांग्रेस र एमालेको झण्डै दुई तिहाई १६६ सिट भएपनि ५९ सिटको राष्ट्रिय सभामा एमाले ११ (मनोनितसहित) रहेको छ भने नेपाली कांग्रेसको १६ सिट सहित जम्मा २७ सिट रहेको छ । राष्ट्रिय सभामा बहुमतको लागि ३० सिट आवश्यक पर्दछ । राष्ट्रियसभामा अल्पमतमा परेको खण्डमा सरकारले चाहेका विधेयकहरु पास गर्न सक्दैन भने बजेट पास गर्नै पनि अप्ठेरो पर्नेछ । त्यसको लागि तेस्रो दलको साहारा लिनु कांग्रेस एमालेलाई बाध्यकारी छ । जसमा उपेन्द्र यादवको ३ सिट रहेको छ । उपेन्द्र यादव थपिँदा बहुमत मात्रै हुन्छ । कुनै विधेयक पेश गर्ने दिन एक जना मात्रै सांसद बिरामी परेका बखत फेल हुने सम्भावना हुन्छ ।

उता, बामदेव गौतमको एक सिट पनि अब राष्ट्रिय सभामा निर्णायक हुने अवस्थामा छ । नेकपा विभाजनपछि कुनै पनि दलमा नलागेका गौतमले ओलीलाई समर्थन गर्छन वा गर्दैन् त्यो हेर्न बाँकी नै छ ।

राष्ट्रिय सभामा क्षेत्रीय दल उपेन्द्र यादव निर्णायक बन्न पुगेका छन् । उपेन्द्र यादव बिना कांग्रेस र एमालेको मात्रै बहुमत नपुग्ने भएपछि यादवको जसपा नेपाल निर्णायक शक्ति बन्न पुगेको छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी ओली नेतृत्वको सरकारमा सहभागी नहुने निश्चित छ । राष्ट्रिय सभामा १७ सिट भएको माओवादी प्रमुख प्रतिपक्षमा रहँदा र एकीकृत समाजवादी सरकारमा सहभागी नहुँदा हाल सम्झौता पत्रमा हस्ताक्षर गरिएको संविधान संशोधन सम्भव छैन । संविधान संशोधन राष्ट्रियसभाबाट पनि दुई तिहाई मतले पारित हुनुपर्नेछ । दुई तिहाई मतका लागि १७ माओवादी र ८ एकीकृत समाजवादी (२५) मत सरकार बाहिर हुँदा दुई तिहाई (४०) पुग्न सक्नेछैन । संविधान संशोधन गर्ने सहमति पालना नहुने भएपछि कांग्रेस एमालेको गठबन्धनमाथि नैतिक प्रश्न चिन्ह उठ्ने हुँदा एमाले कांग्रेसको सत्ता गठबन्धन बन्छ वा टिक्छ भन्नेमा आशंका उत्पन्न हुन सुरु भएका छन् ।

राष्ट्रियसभाको संरचना
माओवादी १७ + मनोनित १ (मतदान गर्न नपाउने अध्यक्ष)
एमाले १० + मनोनित १ (अन्जान शाक्य)
कांग्रेस १६
एकीकृत समाजवादी ८
जनता समाजवादी ३
जनमोर्चा १
लोसपा १
बामदेव गौतम १

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*