२२५ सूचीकृत कम्पनीमध्ये लाभांश वितरण गर्ने ८४ मात्रै, १४१ कम्पनीका लगानीकर्ताको हात रित्तो

राजन कठायत
१८ असार २०८१, मंगलवार १८:२६

काठमाडौं । शेयर बजारमा सूचीकृत भएका अधिकांश कम्पनीहरुले आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट आफ्ना लगानीकर्ता (शेयरधनी) हरुलाई  प्रतिफल दिन असफल भएका छन् । सूचिकृत कम्पनीहरुमा सञ्चालकहरुले गरेको अनियमितता, नियमनको कडा कानुन र देशमा उत्पन्न आर्थिक संकटका कारण दुई तिहाई भन्दा बढि सूचिकृत कम्पनीहरुका लगानीकर्ताहरुले यस वर्ष प्रतिफल पाउन सकेनन् ।

धितोपत्र बजारमा ११ वटा उपसूचकमा कारोबार भैरहेका र गत आर्थिक वर्षको वार्षिक साधारण सभा गरेका २२५ वटा कम्पनीहरुमध्ये ८४ वटाले मात्र आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण गर्न सफल भएका छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा बढी हाइड्रोपावर कम्पनीहरुले लगानीकर्ताहरुलाई निराश बनाएका छन् ।

नेप्सेमा सूचीकृत भएका कम्पनीहरुमध्ये औसतमा ३७ प्रतिशत कम्पनीहरुले मात्रै लाभांश वितरण गर्न सफल भएको बीमापोष्टले संकलन गरेको एकीकृत तथ्याङ्कले देखाएको छ ।

हाइड्रोपावर उपसूचकमा सबैभन्दा बढी कम्पनीहरुले कारोबार गर्दै आएका छन् । यस उपसूचकमा कुल ९१ वटा कम्पनीहरुले शेयर कारोबार गर्दै आएकातापनि गत आर्थिक वर्षको मुनाफाबाट १६ वटा कम्पनीहरुले मात्र लगानीकर्ताहरुलाई लाभांश वितरण गरेका छन् ।

साथै, बैंकिङ्ग उपसूचकमा १९ वटा वाणिज्य बैंकहरुले शेयर कारोबार गर्दै आएका छन् । विकास बैंक इन्डेक्समा १६ वटा बैंक, फाइनान्स इन्डेक्समा १५ वटा कम्पनी, होटल एण्ड टुरिज्म इन्डेक्समा ६ वटा कम्पनी, इन्भेष्टमेन्ट इन्डेक्समा ७ वटा कम्पनी, लाइफ इन्स्योरेन्स इन्डेक्समा १२ वटा कम्पनी, नन लाइफ इन्स्योरेन्स इन्डेक्समा पनि १२ वटा कम्पनी र उत्पादन तथा प्रोसेसिङ इन्डेक्समा ८ वटा कम्पनीहरु कारोबार गर्दै आएका छन् ।

बैंकिङ्ग उपसूचक

यस उपसूचकमा कारोबार भएका १९ वटा वाणिज्य बैंकहरुमध्ये धितोपत्र बजारमा कारोबार नभएको राष्ट्रिय वाणिज्यसहित १२ वटाले मात्रै आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश वितरण गरेका छन् । जसमा एनआइसी एशिया बैंक अब्बल देखिएको छ । बैंकले गत आवको मुनाफाबाट २९ प्रतिशत बोनश र १.५२ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

साथै, माछापुच्छे बैंकले १३.३० प्रतिशत बोनश शेयर र ० दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गरेको छ । एभरेष्ट बैंकले १० प्रतिशत बोनश र १०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको छ । सरकारी स्वामित्व रहेको कृषि विकास बैंकसहित ८ वटाले लगानीकर्ताहरुलाई निराश बनाएका छन् ।

डेभलपमेन्ट बैंक इन्डेक्सः

डेभलपमेन्ट बैंक इन्डेक्समा १६ वटा विकास बैंकहरुले शेयर कारोबार गर्दै आएका छन् । जसमा ८ वटा बैंकहरुले मात्र आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गरेका छन् । यस आर्थिक वर्षमा विकास बैंकहरुमध्ये शाईन रेसुङ्गाा विकास बैंकले १०.५० प्रतिशत बोनश शेयर र ०.५५ प्रतिशतले लाभांश वितरण गरेको छ ।

त्यस्तै, मुक्तिनाथ विकास बैंकको ९.७५ प्रतिशत बोनश र ०.५५ नगद लाभांश वितरण गरेको छ । विकास बैंकहरुमध्ये ८ वटा बैंकले आफ्ना लागनीकर्ताहरुलाई निराश बनेका छन् ।

फाइनान्स इन्डेक्सः

यस इन्डेक्समा कारोबार भएका १५ वटा फाइनान्स कम्पनीहरुमध्ये जम्मा तीन वटाले मात्र नगद लाभांश वितरण गरेका छन् । कुनै पनि कम्पनीहरुले बोनश शेयर पनि वितरण गर्न सकेका छैनन् । तर, पछिल्लो समय शेयर बजारमा चाँही यिनै दैनिय अवस्था भएका फाइनान्सहरुको शेयरमूल्य बढेको बढ्यै छ ।

कम्पनीहरुमध्ये आइसीएफसी फाइनान्सले ६.५ प्रतिशत, मन्जुश्री फाइनान्सले ५.२६ र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ५ प्रतिशतले लाभांश वितरण गरेको छ । यस आवमा १२ वटा फाइनान्सका लगानीकर्ताहरुले भने लाभांश नै नपाएर निराश बनेका छन् ।

होटल एण्ड टुरिज्म इन्डेक्सः

यस उपसूचकमा कारोबार गर्दै आएका ६ वटा कम्पनीहरुमध्ये तीन वटाले मात्र आफ्ना लगानीकर्ताहरुर्ला लाभांश वितरण गरेको छ । जसमा सोल्टी होटेलले चाँही पाँच प्रतिशत बोनश र २६ प्रतिशत नगद लाभांश वितरण गर्दै शेयरधनीहरुलाई मख्ख बनाएको छ ।

साथै, ताराउगाँउ रिजेन्सी होटेलले चार प्रतिशत बोनश शेयर र ११ प्रतिशत नगद लाभांश र ओरियन्टल होटलले पाँच दशमलव २६ प्रतिशतका दरले लाभांश वितरण गरेको छ ।

हाइड्रोपावर इन्डेक्स ।

सरकारको प्राथमिकतामा रहेको हाइड्रोपावर कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई निराश बनाएको छ । नेप्सेमा सूचीकृत भई कारोबार गरिरहेका ९१ वटा कम्पनीहरुमध्ये १६ वटा कम्पनीले मात्र आफ्ना लगानीकर्ताहरुलाई सन्तोषजनक लाभांश वितरण गरेका छन् ।

हाइड्रोपावर कम्पनीहरुमध्ये माउण्टेन इनर्जीले सबैभन्दा बढी लाभांश वितरण गरेको छ । कम्पनीले यस अवधिमा १५ प्रतिशत बोनश शेयर र ० दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गरेको छ । अधिकांश हाइड्रोपावर कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई निराश बनाएका छन् ।

इन्भेष्टमेन्ट इन्डेक्सः

यस इन्डेक्समा कारोबार भएको ७ कम्पनीहरुमध्ये इमर्जिङ्ग पाँच वटा कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई लाभां वितरण गरेको छ । आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट हाइड्रोइलेक्ट्रीसीटी इन्भेष्टमेन्टले पाँच दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको छ । साथै, नागरिक लगानीकोषले १४ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ ।

  लाइफ इन्स्योरेन्स इन्डेक्सः
समग्र कम्पनीको तुलनामा जीवन बीमा कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई क्षमता अनुसारको प्रतिफल वितरण गरेका छन् । यस इन्डेक्समा कारोबार भैरहेका १२ वटा कम्पनीहरुमध्ये हालसम्म वार्षिक साधारण सभा भएका ७ वटा कम्पनीले लााभांश वितरण गरेका छन् ।

साथै, आइएमई लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी लाभांश वितरण गरेको छ । कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई २५ प्रतिशतका दरले बोनश शेयर र १.३२ प्रतिशत नगद लाभांश वितरण गरेको छ । यी कम्पनीहरु बाहेक ४ जीवन बीमा कम्पनीहरु वार्षिक साधारण सभाको अन्तिम तयारीमा रहेका छन् ।

उत्पादन तथा प्रशोधनः

यस उपसूचकमा आठ वटा कम्पनीहरुले शेयर कारोबार गर्दै आएका छन् । जसमा युनिलिभर नेपाल लिमिटेडले १५८० प्रतिशतका दरले सर्वाधिक लाभांश वितरण गरेको छ । साथै, बोतलर्स नेपाल (तराई)ले ६० प्रतिशत र हिमालयन डिस्टिलरीले १५ प्रतिशतका दरले लाभांश वितरण गरेका छन् ।

माइक्रोफाइनान्स इन्डेक्सः
हाल सञ्चालन रहेका ५३ लघुवित्त कम्पनीहरुमध्ये १६ वटा मात्रै आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण गर्न सफल भएका छन् । कम्पनीहरुले गत आर्थिक वर्ष २०७९।०८० को वितरणयोग्य मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश वितरण गरेका हुन् ।

चालु आर्थिक २०७९।०८० मा १६ वटा लघुवित्त कम्पनीहरुले मात्र लाभांश वितरण गरेका छन् । जसमा युनिक नेपाल लघुवित्तले सबैभन्दा बढी बोनश शेयर बितरण गर्न सफल भएको छ । कम्पनीले १ प्रतिशत नगद र १९ प्रतिशत बोनश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको छ ।

साथै, जिवन विकास लघुवित्तले ० दशमलव ७४ प्रतिशत नगद र १४ प्रतिशत बोनश शेयर वितरण गर्दै दोस्रो स्थानमा रहेको छ । सपोर्ट माइक्रो फाइनान्सले १३ प्रतिशत बोनश शेयर, स्वावलम्बन लघुवित्तले १२.३६ प्रतिशत, आन्तनिर्भर लघुवित्तले १० प्रतिशत, डिप्रोक्स लघुवित्तले पनि १० प्रतिशतका दरले लगानीकर्ताहरुलाई बोनश शेयर वितरण गरेको छ ।

नन लाइफ इन्डेक्सः
निर्जीवन बीमा कम्पनीहरुमध्ये गत आर्थिक वर्षको मुनाफाबाट ६ वटा कम्पनीले मात्र आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण गरेका छन् । जसमा नेपाल इन्स्योरेन्सले १० प्रतिशत बोनश शेयर र हिमालयन एभरेष्टले ८.६३ प्रतिशत बोनश शेयर वितरण गरेका छन् ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनी र युनाइटेड अजोड इन्स्योरेन्सले भने वार्षिक साधारण सभा गर्ने अन्तिम तयारीमा रहेका छन् ।


अन्य उपसूचकः
विभिन्न सूचकमा कारोबार भएका कम्पनीहरु बाहेक अन्य सम्पूर्ण कम्पनीहरु यस सूचकमा कारोबार गर्ने गरेका छन् । यस उपसूचकमा कारोबार भएका ६ वटा कम्पनीहरुमध्ये तीन वटाले आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण गरेका छन् ।
नेपाल दुरसञ्चार कम्पनीले लगानीकर्ताहरुलाई ४० प्रतिशत नगद लाभांश र नेपाल रिइन्स्योरेन्सले४.७५ प्रतिशतका दरले बोनश शेयर वितरण गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*