बर्षौ पहिला खारेज भएको बैंकास्योरेन्स व्यूँताउने प्रयास हुँदै

रिना खत्री
१७ असार २०८१, सोमबार १९:४५

काठमाडौं । बर्षै पहिला नै खारेज भएको बैंकास्योरेन्स व्यूँताउने तयारी जीवन बीमा कम्पनीहरुले गरेको छ ।

चरम विकृतिपछि नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६–७७ को मौद्रिक नीतिमार्फत बन्द गरिएको बैकास्योरेन्स पुनः सञ्चालन गर्नुपर्ने भन्दै नेपाल जीवन बीमक संघले दह्रो लविङ गरिरहेको छ । जीवन बीमक संघका केही पदाधिकारीहरुले न्यायाधिश सपना मल्ल प्रधानको नाम भजाएर राष्ट्र बैंकमा बैंकास्योरेन्स ब्यूताउँन दवाव दिइरहेको बुझिएको छ ।

बैंकास्योरेन्समा केही समस्या रहे पनि त्यसलाई सुधार गरेर अघि बढाउन सकिए समग्र क्षेत्रलाई हित हुने बीमा जीवन बीमक संघले बताउँदै आएको छ । बैंकमार्फत व्यवसाय गर्न सके जीवन बीमा कम्पनीहरुको व्यवसाय बृद्धि हुने उनीहरुको विश्वास छ । यद्यपि बैंकास्योरेन्सको विकृतिका कैयौं मुद्दाहरु अझै बीमा प्राधिकरणमा बाँकी नै छ ।

बीमा अभिकर्ताको रोजीरोटी खोसिने अवस्था सिर्जना भएसँगै कम्पनी र प्राधिकरणसँग लामो आन्दोलन र छलफल पछि रोकिएको बैंैकास्योरेन्स पुन संचालनमा ल्याउन प्रयास भइरहेको छ ।
बैकास्योरेन्सका नाममा बैंकहरुले अप्रत्यक्ष रुपमा बीमा एजेण्टको रुपमा काम गर्दै आएको भन्दै बीमा अभिकर्ताहरु रुष्ट भएको कारण बन्द गराएको थियो । यो बिषय पुनः सुचारु गर्ने बिषयले बीमा अभिकर्ताहरु झस्किएका छन् । यसअघि नेपाल जीवन बीमक संघले औपचारिक रुपमा निर्णय गरेरै बैंकास्योरेन्स खोल्नुपर्ने माग राष्ट्र बैंक समक्ष गरेको थियो ।

बीमा अभिकर्ताहरूले आफूहरूको रोजगारी गुम्ने गरेर कुनै किसिमका योजना नल्याउन पनि चेतावनी दिएका छन् । आफूहरूले जनतालाई बीमा के हो ? भनेर बुझाएर ठिक्क पारेको व्यवसाय बैंकले खोस्दा सैह्य नहुने अभिकर्ताहरूको भनाई छ ।
विगतमा बैंकास्योरेन्समा समस्या देखिएको स्वयम् बीमा कम्पनीहरूले पनि स्वीकार गरेका छन् । तर बैंकास्योरेन्सको समस्या हुँदै हुँदै पनि व्यवसाय गर्न नसकेका सिईओहरुका कारण खोल्न पहल भइरहेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने समय नजिकिरहेको छ । सोही सन्दर्भमा फेरि बैंकास्योरेन्स सञ्चालनमा आओस् भन्ने आशा उनीहरूमा पाइएको छ । मौद्रिक नीतिको पूर्वसन्ध्यामा बीमा कम्पनीले बैंकास्योरेन्स सञ्चालनलाई राष्ट्र बैंकले पुर्नविचार गर्न आवश्यक रहेको बताएका छन् । बैकास्योरेन्स अन्तर्राष्ट्रिय बीमा बजारमा सञ्चालनमा छ । तर नेपालमा यसको थालनी भएसँगै देशैभरि विकृति र थुप्रै समस्या पनि देखा परेकाले बन्द गरिएको थियो ।

पेशागत अभिकर्ता संघका पूर्व अध्यक्ष नन्द प्रसाद तिवारीले बैकास्योरेन्स अभिकर्ताको हकहितमा नरहेको बताउँछन् । उनले पहिले नै यसलाई बन्द गरिसकेकाले फेरि यो सञ्चालनमा आउने सम्भावना न्यून रहेको बताए । त्यसो गरिए देशैभरिका अभिकर्ताहरुले राष्ट्र बैंक घेराउ गर्ने चेतावनी दिएका छन् ।

सानिमा रिलायनस लाइफका सिईओ शिवनाथ पाण्डेले बैंकास्योरेन्स जरुरी रहेको र त्यसका लागि एउटा मापदण्ड भने तयार गर्न आवश्यक रहेको बताउँछन् । अभिकर्तालाई मार नपर्ने गरी ल्याउँदा कम्पनीलाई पनि फाइदा नै पुग्ने सिईओ पाण्डे बताँउछन् ।

उनले भने, केही निश्चित मापदण्ड भने बनाउनुपर्छ । बैंकास्योरेन्समा बैंकले के गर्ने ? र बीमा कम्पनीले के गर्ने ? भन्ने कुरामा स्पष्ट हुनु जरुरी छ । कस्तो प्रोडक्ट बेच्न पाइने र कस्तो प्रोडक्ट बेच्न नपाइने ? बिषय सपष्ट राखेर बैंकास्योरेन्स आउन आवश्यक रहेको उनी बताँउछन् ।

बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले केही समयअघि मात्रै सार्वजनिक कार्यक्रममा बैंकास्योरेन्स पुन संचालनमा ल्याउन आवश्यक रहेको बताएका थिए । यस बिषयमा अभिकर्ताहरुले विरोध गरेपछि अध्यक्ष सिलवालले सार्वजनिक कार्यक्रममा यस्ता अभिव्यक्ति दिन छोडेका थिए ।

बैंकास्योरेन्स जीवन तथा निर्जीवन बीमा कम्पनी दुवैले गर्दै आएका थिए । बैंकास्योरेन्सबाट बीमा गर्नेको पोलिसि ‘ल्याप्स’ बढेकाले यसमा कम्पनी पनि केही हच्किएका थिए । तर व्यसायलाई निरन्तर बनाउने वातावरण सिर्जना गर्दै बैंकास्योरेन्स सञ्चालन गर्नुपर्ने पक्षमा बीमा कम्पनीहरू देखिन्छन् ।

ऐनमा के छ ?
बीमा ऐनले बीमा कम्पनीको योजना बिक्री वितरणका लागी बीमा अभिकर्ताको व्यवस्था गरेको छ । योग्यता पुगेको व्यक्ति वा कुनै पनि संस्थाले बीमा अभिकर्ताको लाईसेन्स लिन सक्ने बीमा नियमावलीमा व्यवस्था गरिएको छ ।

एसएलसी उर्तिण गरी समिति वा समितिले अधिकार प्राप्त गरेको कम्पनीबाट अभिकर्ताको तालिम लिएको व्यक्तिले लाईसेन्सका लागी समितिमा निवेदन दिन सक्नेछ । त्यसैगरी संस्थागत अभिकर्ताको हकमा भने संस्थाको एकजना सञ्चालकले कम्तिमा एसएलसी उर्तिण गरी त्यस्तो तालिममा सहभागी भएको हुनुपर्नेछ ।

के हो बैंकास्योरेन्स ?
बीमा कम्पनी र बैंक बिचको सहकार्य नै बैंकास्योरेन्स हो । बैंकले बीमा कम्पनीसँग सम्झौता गरी सम्बन्धित कम्पनीको योजनाहरु बिक्री वितरण गर्ने प्रक्रिया नै बैंकास्योरेन्स हो । बैंकास्योरेन्स गर्दा बैंक आफैले नै आफना निक्षेपकर्ता वा ऋणीलाई बीमा कम्पनीको योजना जारी गर्न पाउँछन् । यसको लागी बैंकमा बीमा गर्ने छुट्टै विभाग हुन्छ । बीमा गर्दा बैंक आफैले अण्डरराईटिङ्ग पनि गर्छ ।

बैंकले बीमितको खाताबाट बीमाशुल्क काटेर बीमा कम्पनीको खातामा राखी दिन्छ । त्यसैले दाबी पर्दा पनि बैंकले नै भुक्तानी गर्छ । तर, कति रकमसम्मको योजना बैंक आफैले नै जारी गर्न पाउने र कतिसम्मको भुक्तानी बैंकले नै गरिदिने भन्ने बिषयमा बैंक तथा कम्पनी बिच भएको सम्झौता अनुसार हुन्छ । कम्पनीको काम गरि दिए बापत बैंकले निश्चित कमिशन लिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*