बालकोटबाट केपी ओली तीन घण्टा बेपत्ता, मध्यराति बिनोद चौधरीको घरमा ओली र देउवाबीच भेटवार्ता !

१७ असार २०८१, सोमबार १०:५९

काठमाडौं । नेपालको राजनीतिमा गर्मागर्मी अवस्थाबाट गुज्रिरहेको बेला हिजोराति एमाले अध्यक्ष केपी ओली तीन घण्टा बेपत्ता भएको घटनाले राजनीतिक एक पटक फेरि तरंगित हुन पुगेको छ । ललितपुरस्थित एक व्यापारीको घरमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति र सत्ता गठबन्धनका सबैभन्दा ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । पछिल्लो ३० घण्टा दुई शीर्ष नेताका बीचमा दोस्रो भेटवार्ता भएको हो ।

विश्वस्त स्रोतले बीमापोष्टलाई जनाए अनुसार मध्यराति झम्सिखेलस्थित प्रधानसेनापति निवासको पश्चिमतर्फ रहेको बिनोद चौधरीको निजि निवासमा दुई नेताहरुका बीचमा गोप्य भेटवार्ता भएको थियो । सो भेटवार्तामा आरजु राणा पनि सहभागी थिईन् । सो भेटवार्ताको विषयबस्तु बाहिर आएको छैन ।

उता, एमाले अध्यक्ष केपी ओलीले हिजो राति तीन घण्टा हराउँदा कहाँ कहाँ पुगेका थिए भनेर अहिले व्यापक चासोको विषय बनिरहेको छ । साँझ आठ बजेतिरदेखि बालकोटबाट बेपत्ता भएका ओली बुढानिलकण्ठस्थित क्याप्टेन रामेश्वर थापा र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको निवास दुई मध्ये एक ठाउँमा पुगेको विश्वस्त स्रोतले जनाएको छ । यद्यपि सो कुराको स्वतन्त्र रुपमा पुष्टि भइसकेको छैन । हिजै एमाले अध्यक्ष ओली बाराका नेता किसान श्रेष्ठको घरमा पुगेको समेत चर्चा छ ।

सत्ता गठबन्धनका मुख्य दल एमालेका अध्यक्ष तीन घण्टा बालकोटस्थित निवासबाट राति हराएपछि बालुवाटारस्थित प्रधानमन्त्री प्रचण्ड पनि तनावमा परेका छन् । प्रधानमन्त्री प्रचण्ड तनावमा परेसँगै आजै विहान पुनः बालुवाटार पुगेर केपी ओलीले छलफल गरिरहेका छन् ।

यसैबीच, कांग्रेसले आज दिउँसो पदाधिकारी र पूर्वपदाधिकारी बैठकसमेत बोलाएको छ। बैठकमा सत्ता परिवर्तन र समसामयिक राजनीतिक विषयमा निर्णय हुने कांग्रेस पार्टीका एक नेताले जानकारी दिए। बैठकमा सभापति देउवाले ओलीसँग भएको छलफलबारे जानकारी गराउनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*