लघुवित्तबाट लगानीकर्ताले पाएनन् लाभांश, ५३ मध्ये १६ कम्पनीले बाडे प्रतिफल, बाँकीको हात रित्तो

१६ असार २०८१, आईतवार १८:०५

काठमाडौं । हाल सञ्चालन रहेका ५३ लघुवित्त कम्पनीहरुमध्ये १६ वटा मात्रै आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण गर्न सफल भएका छन् । कम्पनीहरुले गत आर्थिक वर्ष २०७९।०८० को वितरणयोग्य मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश वितरण गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई १५ प्रतिशतभन्दा बढी लाभांश वितरणमा कडाई गरेको छ । केन्द्रिय बैंकले लघुवित्त कम्पनीहरुलाई आर्थिक रुपले बलियो बनाउँनको लागि हाललाई १५ प्रतिशतभन्दा बढी लाभांश वितरणमा कडाई गरेको हो ।

लघुवित्त कम्पनीहरुको खराब कर्जामा वृद्धि, आर्थिक संकट, विभिन्न समुहहरुले लघुवित्त विरुद्ध गरेका आन्दोलन लगायतका विषयले कम्पनीहरुको वित्तीय अवस्था धरासायी बन्दै गएको थियो । लघुवित्त कम्पनीका कर्मचारीहरुलाई समेत अराजक समुहले आफ्नो स्वार्थ पूर्तीको लागि कार्यालय भित्रै प्रवेश गरेर हातपात गरेका घटना समेत घटाएका थिए ।

राष्ट्र बैंकको सर्वोत्कृष्ट नियमन र सरकारको साथ सहयोगका कारण पछिल्लो समय चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश लघुवित्त कम्पनीहरुको खराव कर्जा घट्दै गएको छ । जस कारण फेरी लघुवित्त कम्पनीहरुको व्यवसायमा लयमा फर्किदै आएको छ ।

लघुवित्त कम्पनीहरुले लाभांश वितरण गर्न नसकेपश्चात आजभोलि धेरैजसो कम्पनीहरुको शेयरमूल्यमा पनि भारी गिरावट आउँदै गरेको छ । कुनै समय प्रतिकित्ता शेयर तीन हजार, चार हजार रुपैयाँ रहेका लघुवित्त कम्पनीको शेयरमूल्य आजभोलि एक हजार पाँच सय, दुई हजार रुपैयाँमा सीमित बनेका छन् ।

नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष राम बहादुर यादवले एक, दुई वर्ष अगाडी केही अराजक समुहहरुले विभिन्न व्यवसाय गर्न लिएको ऋण तिर्नु पर्दैन अर्थात तिर्नुहुन्न भन्ने उद्देश्यले ऋणीहरुलाई लिएर लघुवित्त विरुद्ध आन्दोलन गर्ने गरेका थिए र यी बाहेक अन्य अधिकांश कारणले लाभांश वितरण गर्न नसकेको बताए ।

साथै, उनले भने, ‘उनीहरुको आन्दोलनले लघुवित्त कम्पनीहरुले व्यवसाय बढाउन नसक्दा  लाभांश वितरण गर्न कठिन भएको हो र १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा राष्ट्र बैंकले कडाई गरेका कारण लाभांश वितरण गर्न नसकेका हुन्। अहिले फेरी लघुवित्तहरुले खराव कर्जा घटाउँदै गएका छन् । नागरिकहरुलाई पनि ऋण लिएपश्चात तिर्नैपर्छ भन्ने मनस्थिती बनेको छ’

चालु आर्थिक २०७९।०८० मा १६ वटा लघुवित्त कम्पनीहरुले मात्र लाभांश वितरण गरेका छन् । जसमा युनिक नेपाल लघुवित्तले सबैभन्दा बढी बोनश शेयर बितरण गर्न सफल भएको छ । कम्पनीले १ प्रतिशत नगद र १९ प्रतिशत बोनश गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको छ ।

साथै, जिवन विकास लघुवित्तले ० दशमलव ७४ प्रतिशत नगद र १४ प्रतिशत बोनश शेयर वितरण गर्दै दोस्रो स्थानमा रहेको छ । सपोर्ट माइक्रो फाइनान्सले १३ प्रतिशत बोनश शेयर, स्वावलम्बन लघुवित्तले १२.३६ प्रतिशत, आन्तनिर्भर लघुवित्तले १० प्रतिशत, डिप्रोक्स लघुवित्तले पनि १० प्रतिशतका दरले लगानीकर्ताहरुलाई बोनश शेयर वितरण गरेको छ ।

यस आर्थिक वर्षमा लघुवित्त कम्पनीहरुमध्ये आरएसडीसी लघुवित्तले ८.६ प्रतिशत, फस्र्ट माइक्रोफाइनान्सले ७.५० प्रतिशत, नेशनल लघुवित्तले पनि ७.५० प्रतिशत, समता घरेलु लघुवित्तले ५.४२ प्रतिशत र छिमेक लघुवित्तले ५ प्रतिशेयरका दरले बोनश शेयर वितरण गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*