खुला बजार कारोबार सम्बन्धी कार्यविधि संसोधन, एसडीएफ अन्तर्गत राखिने निक्षेपको न्यूनतम सीमा घटाइयो
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि’ संसोधन गर्दै बैंकमा हप्तामा तीन पटक स्थायी निक्षेप सुविधा (एसडीएफ) अन्तर्गत निक्षेप राख्न सक्ने व्यवस्था गरेको छ।
यसअघि बैंकहरुले हप्तामा आइतबार र बुधबार स्थायी निक्षेप सुविधा लिन पाउने व्यवस्था थियो । सो भन्दा अघि त्यसरी राखिएको निक्षेप परिपक्क हुने अवधी चार दिनको थियो ।
तर, अब हप्तामा तीन पटक अर्थात् प्रत्येक आइतबार, मंगलबार र बिहीबार यस्तो सुविधा प्रदान गरिने राष्ट्र बैंकको भनाई छ ।उक्त दिन सार्वजनिक बिदा भएमा त्यसपछि कार्यालय खुलेको दिन यस्तो सुविधा दिइने कार्यविधिमा उल्लेख छ ।
कार्यविधिअनुसार आइतबार जम्मा भएको पैसा मंगलबार, मंगलबार जम्मा भएको निक्षेप बिहीबार र बिहीबार जम्मा भएको रकम आइतबार परिपक्व भई भुक्तानी गरिने छ ।
तर भुक्तानी मितिमा राष्ट्र बैंकको कार्यलय बन्द हुने भएमा अघिल्लो दिननै भुक्तानी हुने गरी निक्षेप राख्न सकिने कार्यविधिमा उल्लेख छ । राष्ट्र बैंकले गत फागुन १ गतेदेखि एसडीएफ कार्यान्वयनमा ल्याएको थियो ।
तर, त्यो कार्यान्वयनमा आएको साढे चार महिनामै यस सम्बन्धी व्यवस्था पुनरावलोकन गरिएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै एसडीएफसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने घोषणा गरेको थियो ।
अहिले पछिल्लो ३० दिनको दैनिक कर्जा निक्षेप अनुपात तोकिएको सीमाभित्र हुनुपर्ने र पछिल्लो ३० दिनको दैनिक खुद तरल सम्पत्ति तोकिएको सीमाभन्दा बढी रहेको हुनुपर्ने शर्तहरु हटाइएको छ । अन्य शर्तहरुलाई पनि खुकुलो बनाएको राष्ट्र बैंकको भनाइ छ ।
यस्तै, एसडीएफअन्तर्गत राखिने निक्षेपको न्यूनतम सीमा पनि घटाइएको छ । यसअघि बैंकहरुले न्यूनतम २० करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राख्नुपर्ने शर्त थियो ।
तर, अहिले त्यो न्यूनतम सीमालाई १० करोड रुपैयाँमा झारिएको छ । अधिमतम् सीमा भने पाँच करोडले भाग गर्दा निःशेष भाग गर्दा जाने अंक बराबरको रकम राख्न सकिने छ ।
यस अन्तर्गत बैंकहरुले निक्षेप प्रस्ताव गर्दा राष्ट्र बैंकले अस्वीकार गर्न पाउदैन । तोकिएको शर्त पूरा भएमा राष्ट्र बैंकले अनिवार्य रुपमा त्यस्तो प्रस्ताव स्वीकार गर्नुपर्छ ।