सरकारले गरेको अनिवार्य बीमामा मात्रै कम्पनीहरु केन्द्रित, कृषि र लघुबीमा देखिएन आकर्षण

१६ असार २०८१, आईतवार १४:२४

काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूको व्यवसायको सबैभन्दा धेरै हिस्सा मोटर बीमाले ओगटेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार जेठ महिनासम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमालेखबाट सबैभन्दा बढी बीमा शुल्क आम्दानी गरेका हुन् ।

सवारी साधनको बढ्दो प्रयोग तथा अनिर्वाय बीमा गर्नुपर्ने सरकारको नीतिले कम्पनीहरूले बीमा व्यवसायलाई मोटर क्षेत्र केन्द्रीत बनाएका हुन् । निर्जीवन बीमा कम्पनीहरुले समग्र रुपमा कुल १४ लाख १७ हजार ९०६ वटा मोटर बीमालेख बिक्री गरी कुल १० अर्ब ९ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् ।

साथै, सम्पत्ति बीमालेख दोस्रो स्थानमा रहेको छ । कम्पनीहरुले ४ लाख १६ हजार ७९२ वटा सम्पत्ति बीमालेख बिक्री गरेका छन् । उक्त बीमालेख बिक्री गरी ८ अर्ब १६ करोड ५ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् ।

बीमा प्राधिकरणको तथ्यांकअनुसार इन्जिनियर तथा ठेक्का जोखा बीमालेखबाट निर्जीवन बीमा कम्पनीहरुले ५ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ बराबरको आम्दानी गरेका छन् । यस अवधिमा कम्पनीहरुले २४ हजार ५२७ वटा बीमा पोलिसी बिक्री गरी उक्त रकम बराबरको आम्दानी गर्न सफल भएका छन् ।

कम्पनीहरुले विविधबाट ३ अर्ब ६४ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । निर्जीवन बीमा कम्पनीहरुले यस अन्तर्गत १ लाख ३६ हजार ९१० वटा बीमालेख बिक्री गरेको छ । जेठ महिनासम्ममा हवाई बीमालेखबाट १०६ वटा बीमालेख बिक्री गरी २ अर्ब ११ करोड २५ लाख रुपैयाँ बीमाशुल्क आम्दानी गरेको छ ।

सरकारले समयमै अनुदान नदिने जस्ता अनेकौ बाधाहरुले कृषिमा भने आकर्षण देखिदैन् । कृषि तथा बाली बीमालेख मार्फत १ लाख १४ हजार ५१३ वटा बीमालेख बिक्री गरी कुल १ अर्ब ६८ करोड ५० लाख रुपैयाँको बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले सामुन्द्रिक बीमालेखबाट १ अर्ब ६२ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीहरुले यस बीमालेख अन्तर्गत २ लाख ६४ वटा बीमालेख बिक्री गरेको छ ।

कम्पनीहरुले सबैभन्दा कम लघुबीमा मार्फत बीमाशुल्क आर्जन गरेको छ । निर्जीवन बीमा कम्पनीहरुले लघू बीमालेख मार्फत २१ करोड रुपैयाँ आम्दानी गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*