बिक्री हुन छोड्यो सूर्यज्योति लाइफको संस्थापक शेयर, दोस्रो पटक लिलामीमा

१६ असार २०८१, आईतवार १०:१५

काठमाडौं । कमजोर व्यवस्थापनको कारण वित्तीय अवस्था खस्कँदै गएपछि सूर्यज्योति लाइफका लगानीकर्ताहरुलाई आफूसँग भएको संस्थापक शेयर बिक्री गर्न कठिन हुने अवस्थामा पुगेका छन् । एनआईसी एसिया बैंकले आफ्नो नाममा रहेको तीन लाख कित्ता संस्थापक शेयर गत बैशाख २० गतेदेखि पहिलो पटक बिक्रीमा ल्याएको थियो । तर, उक्त शेयर अहिलेसम्म बिक्री गर्न सकेको छैन । लिलामीमा समेत बिक्री गर्न नसकेपछि दोस्रो पटक आज पुनः लिलामीका लागि सूचना निकालेको छ ।

एनआईसी एसिया क्यापिटलले निकालेको सूचना अनुसार यसअघि पटक पटकको प्रयासमा प्रतिकित्ता २१० रुपैयाँमा बिक्री गर्न खोजिएको शेयर लिलामीमा समेत बिक्री नभएपछि पुनः तेस्रो पटक लिलामी मार्फत बिक्रीमा राखिएको हो । पहिलो पटक गत बैशाख २० गते संस्थापक शेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरी लिलामीमा राखिएको थियो । सो प्रक्रियामा कुनै पनि संस्थापकहरुले उक्त शेयर किन्न मानेनन् । दोस्रो पटक २०८१ असार ४ गते प्रतिकित्ता २१० रुपैयाँमा नै बिक्रीमा राखिएको थियो । यस पटक सर्वसाधारण जोसुकैले आवेदन दिन पाउने गरी सूर्यज्योति लाइफको संस्थापक शेयर लिलामीमा चढाइएको थियो । यस पटक पनि उक्त शेयर किन्न कसैले पनि चासो देखाएनन् ।

तेस्रो पटक आज फेरि सूचना जारी गर्दै संस्थापक शेयर बिक्रीमा राखिएको छ । यसअघि २१० रुपैयाँ प्रतिकित्ताको दरले लिलामीमा राखिएको शेयर यस पटक मूल्य ह्वात्तै घटाएर १६२ रुपैयाँ न्यूनतम् मूल्य तोकेर लिलामीमा राखिएको छ । सस्तो भएका कारण लिलामीमा आएको उक्त शेयर खरिद गर्न सर्वसाधारणले चासो देखाए पनि पुनः बिक्री गर्नुपर्दा यस्तै हैरानी र सास्ती भोग्नुपर्ने त्रास लगानीकर्तामा देखिन्छ । एनआईसी एसिया बैंकले जुनसकै हालतमा सुर्यज्योति लाइफको शेयर बिक्री गरेर बाहिरिन चाहेको देखिएको छ । त्यसको लागि यसअघि तोकिएको मूल्य मध्ये प्रतिकित्ता ४८ रुपैयाँ घटाएर लिलामीमा राखेको छ । यसबाट बैंकलाई एक करोड ४४ लाख रुपैयाँ घाटा हुनेछ ।

पछिल्लो समय सुर्यज्योति लाइफको व्यवस्थापनमा समस्या देखिन थालेको छ । व्यवसाय खस्किदै गएको छ भने जेठ महिनासम्मको विवरणमा प्रथम बीमा शुल्क १० प्रतिशतले ऋणात्मक छ । थुप्रै मुद्दाहरु बीमा प्राधिकरणमा अल्झिएको अवस्थाबाट गुज्रिरहेको छ । व्यवस्थापनमा समस्या देखिएपछि संस्थापक शेयर बिक्री गर्न समस्या परेको हो । २०७९ पुस ३० गते सुर्या लाइफ र ज्योति लाइफ मर्जर भई सुर्यज्योति लाइफ बनेको थियो । नेपालको पहिलो जीवन बीमा कम्पनीको मर्जरको रुपमा आपसमा गाभिएको उक्त दुई कम्पनीमा सिईओको कारण सिनर्जी गुमाउँदै गएको छ ।

एनाईसी एसिया बैंकसँग सुर्यज्योति लाइफका कूल १३ लाख ७१ हजार १५३ कित्ता शेयर रहेको छ । सो मध्ये तीन लाख कित्ता बिक्री गर्न खोजेको हो । नेप्सेमा पछिल्लो पटक साधारण शेयरको मूल्य प्रतिकित्ता ३९९.९ रुपैयाँमा कारोबार भइरहेको छ । कम्पनीको संस्थापक र सर्वसाधारण शेयर हिस्सा अनुपात ५१ः४९ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*