वित्तीय स्वार्थ बाझिने गरी एफवान सफ्टमार्फत बीमा कम्पनीका डाटा प्राधिकरणमा जोडिँदै

१४ असार २०८१, शुक्रबार २०:०८

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा आईटी सम्बन्धी पर्याप्त ज्ञान नहुँदा वित्तीय दोहोरो स्वार्थ बाझिने एक निजि कम्पनीमार्फत रियल टाइम डाटा नियामक नेपाल बीमा प्राधिकरणमा जोड्ने तयारी अन्तिम अवस्थामा पुर्याएको छ । भोलि असार १५ गते अपरान्ह ५ बजे परिक्षण स्वरुप सुचारु गर्न लागिएको रियल टाइम डाटामा स्पष्ट रुपमा दोहोरो वित्तीय स्वार्थ बाझिएको तथ्य बीमापोष्टलाई प्राप्त भएको छ ।

प्राधिकरणका अनुसार यही असार १६ गतेदेखि औपचारिक रुपमा रियल टाईम डाटा इन्ट्रिगेशनको काम हुनेछ । हाल उक्त कार्य यसअघिको दर्शनटेक प्रा.लि भनेर काम गरेको र हाल नाम परिवर्तन गरी बनेको फोनइन्स्योर नामक आईटी कम्पनीले गरिरहेको छ । उक्त कम्पनी एफवान सफ्ट मातहतको कम्पनी हो । एफवान सफ्टकै अर्को कम्पनी इसेवा वालेट हो । इसेवाले एपिआईआर्फत सबै बीमा कम्पनीहरुको तथ्याङ्क आफ्नो वालेटमा लिङ्क गरिसकेको छ ।

फोनइन्स्योरसँग पहिलो स्वार्थ बाझिने कार्य इसेवासँग रहेको छ । इसेवा नेपाल बीमा प्राधिकरणबाट बीमा अभिकर्ताको लाइसेन्स लिएको कम्पनी हो । संस्थागत बीमा अभिकर्ताको लाइसेन्स लिएको कम्पनी इसेवाको सिष्टर कम्पनी फोनइन्स्योर मार्फत नियामक नेपाल बीमा प्राधिकरणले रियल टाइम डाटा प्राप्त गरेर मनिटरिङ गर्न लागेको छ ।

दोस्रो स्वार्थ बाझिने कार्य फोनइन्स्योर नामक कम्पनीले नेपालमा धेरै बीमा कम्पनीहरुमा कोर बीमा सम्बन्धी सफ्टवयर बनाउने काम गर्दछ । सो कम्पनीले आफू नियामकको आधिकारिक कम्पनी भन्दै बीमा कम्पनीहरुलाई अर्को कम्पनीको कोर बीमा सम्बन्धी सफ्टवयर हटाएर आफ्नो राख्न दवाव दिँदै आएको थियो । अहिले फेरि एफवान सफ्टकै माध्यमबाट एपिआई डाटा इन्ट्रिगेशन गर्दा एफवानको व्यवसाय बृद्धिको स्वार्थ बाझिन आउनेछ ।

ठेक्का प्रक्रियामार्फत हुन लागेको उक्त कार्यका लागि नियामक नेपाल बीमा प्राधिकरण उतिबेला नै चुकेको थियो । टेण्डर आह्वान गर्दा वित्तीय स्वार्थ नबाझिने गरी टेण्डर स्वीकृति गर्नुपर्नेमा त्यस्ता कुरामा ध्यान नदिँदा अहिले गम्भिर अप्ठेरोमा पर्ने देखिएको छ । अर्कोतर्फ दक्ष आईटी विज्ञहरु राखेर काम गर्नुपर्नेमा तेस्रो पक्षमार्फत त्यो पनि वित्तीय स्वार्थ बाझिने गरी एपिआईमार्फत डाटा लिन खोजिरहेको छ । जसको गोप्यता कायम गर्न नसके बीमा प्राधिकरणमाथि तथ्याङ्क चुहाएको गम्भिर आरोप लाग्नेछ ।

बीमा ऐन २०७९ को दफा १७ र ९८ आकर्षित हुने देखिन आएको छ । बीमा ऐनको दफा १७ मा कुनै वित्तीय स्वार्थ बाझिने कार्य गर्न नहुने उल्लेख छ । यद्यपि आईटी कम्पनी छनौट गर्दा स्वार्थ बाझिएको हुन नहुने भन्ने कही कतै उल्लेख छैन । तर, बीमा प्राधिकरणका अध्यक्ष र सञ्चालक समितिका सदस्यहरु, बीमा कम्पनीका कुनै पनि कर्मचारीहरुको स्वार्थ बाझिन नहुने स्पष्ट उल्लेख छ । त्यस्तै, बीमा कम्पनीका सिईओ र सञ्चालक तथा अध्यक्षहरुको समेत स्वार्थ बाझिन नहुने उल्लेख छ । सबैतिर स्वार्थ बाझिन नहुने अवस्थामा आईटीको काम र सफ्टवर सम्बन्धी कार्यका लागि स्वार्थ बाझिने कम्पनीबाटै किन काम गराइरहेको छ ? प्रश्न उठेको छ ।

यसअघि बीमा प्राधिकरणमा जोडिएको आईआरएमआईएस सफ्टवरले वर्षौसम्म काम गर्न नसकेर भर्खरै मात्रै आंशिक रुपमा सञ्चालित छ । सो आईआरएमआईएस सफ्टवर पनि अहिलेकै फोनइन्स्योर नामक आईटी कम्पनीले नै बनाएको हो । एक पटक असफल भइसकेको आईटी कम्पनीलाई बीमा प्राधिकरणले टेण्डरमार्फत पटक पटक सबैलाई छनौट गर्दै आएको विषय पनि अर्को रहस्यम छ ।

डाटा चुहिने आशंका किन ?
बीमा प्राधिकरणको ट्रष्ट पार्टीबाट स्वतन्त्र रुपमा आईटी अडिट गरिएको छैन । जम्मा एक जना आईटी बिज्ञबाट काम चलाइरहेको छ । बीमा कम्पनीहरुबाट तथ्याङ्क ल्याएर रियल टाइम मनिटरिङ गर्ने हो भने छुट्टै आईटी विभागसहित सुविधा सम्पन्न हुनुपर्नेछ ।

यसअघि पाँच लाखको सर्भर जडान गर्दा पनि दर्शन टेक नामक कम्पनीले पुरा सामान नराखी झुक्याएर घोटाला गरेको थियो । यसअघि एक अनलाईन सञ्चार माध्यमको सर्भर इ सेवामै राखेका बखत सो कम्पनीसँग सम्बन्धित समाचार प्रकाशित गर्ने सञ्चार माध्यमको सर्भरमा अनाधिकृत पहुँच स्थापित गरी डिलिट गरिदिएको थियो । सो काण्डमा अदालतमा मुद्दा नै परेको थियो । आफ्नो स्वार्थको लागि जे पनि गर्ने र साईबर सुरक्षामा विश्वासयोग्य वातावरण बनाउन नसकेको एफवान सफ्टसँग बीमा प्राधिकरणको सम्बन्धबारे बीमा क्षेत्रमा आम चासो उत्पन्न भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*