हिमालयन एभरेष्ट इन्स्योरेन्सका सिईओ हटाउने निर्णयले बीमा क्षेत्र तरंगित, बीमा ऐनको प्रक्रिया पुरा नहुँदा के हुन्छ ?

१३ असार २०८१, बिहीबार ११:३९

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सिईओ बिजय बहादुर शाहलाई सञ्चालक समितिले करार भंग गर्दै पद मुक्त गरेपछि बीमा क्षेत्रमा नयाँ तरंग सुरु भएको छ ।

सञ्चालक समितिले सिईओसँग गरिएको करार सिधै भंग गरेपछि अन्य बीमा कम्पनीहरुमा समेत उक्त विषय तरंगित बन्न पुगेको छ । सञ्चालक समितिको बैठकमा एक दिनको विवादकै कारण सिईओलाई बर्खास्त गर्ने सञ्चालक समितिको निर्णयबारे नियामक नेपाल बीमा प्राधिकरणका अधिकारीहरुले पनि चित्त बुझाएका छैनन् ।

बीमा ऐनको दफा ५७ को उपदफा ३ मा कुनै पनि सिईओलाई बर्खास्त गर्नुअघि चित्त बुझ्दो स्पष्टिकरण पेश गर्ने मौका दिनुपर्ने स्पष्ट उल्लेख छ । सो आधारमा हिमालयन एभरेष्टका सिईओ बिजय शाहलाई बर्खास्त गर्ने सञ्चालक समितिको निर्णय परिपक्व हुन नसकेको देखिन आएको छ ।

स्रोतले बीमापोष्टलाई जनाए अनुसार बर्खास्त गर्नुअघि सिईओ शाहलाई सञ्चालक समितिले स्पष्टिरकण सोधेको वा सफाई पेश गर्ने मौका दिएको छैन । २०७९ साल साउन १ गतेदेखि बीमा ऐन र नियम अनुसार नियामक निकाय तत्कालिन बीमा समितिबाट विधि प्रक्रिया पुरा गरेर चार वर्षे कार्यकालका लागि नियुक्त भएका सिईओ शाहको कार्यकाल चार वर्षको थियो ।

प्राधिकरणबाट पूर्व स्वीकृति लिई नियुक्त भएका सिईओबारे हिमालयन एभरेष्टले नियामक बीमा प्राधिकरणलाई सूचना नै नदिई हटाइएको विषय पनि अहिले बीमा क्षेत्रमा चर्चा र बहस बनिरहेको छ ।
बीमा क्षेत्रमा राम्रो प्रगति गर्न नसकेका बीमा कम्पनीका सिईओहरु हिजोको काण्डपछि थप आतंकित बनेका छन् । साथै व्यवसाय बृद्धि र मुनाफामा केन्द्रीत हुन दवाव परेको छ ।

बीमा ऐनको दफा ५७ र उपदफा ३ अनुसारको प्रक्रिया पुरा नगरी सञ्चालक समितिले बर्खास्त गरेको विषयमा बीमा प्राधिकरणले भन्दा पनि अदालतबाट मात्रै न्याय पाउने सम्भावना छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*