जीवन बीमकहरुको वैदेशिक रोजगार बीमा व्यवसाय घट्यो, सन नेपालको सर्वाधिक, एशियन र नेशनलको उच्च वृद्धि

१२ असार २०८१, बुधबार १५:१५

काठमाडौं । सरकारले अनिवार्य गरेको वैदेशिक रोजगार बीमाको दायरा सामान्य अंकले घटेको छ । नेपाली नागरिकहरु विदेशमा काम गर्न गएपश्चात विभिन्न समस्याको सामना गर्नुपर्ने भएका कारण उक्त समस्याको समाधानको लागि सरकारले वैदेशिक (म्यादि बीमा) अनिवार्य गरेको हो ।

चालु आर्थिक वर्षको जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुको म्यादि बीमा व्यवसाय ३ दशमलव ०८ प्रतिशतले घटेर दुई अर्ब ८७ करोड रुपैयाँमा सीमित बनेको छ । कम्पनीहरुले अघिल्लो आवको सोही अवधिमा दुई अर्ब ९६ करोड रुपैयाँको कुल बीमाशुल्क आर्जन गरेका थिए ।

हाल नेपालमा सञ्चालन रहेका १० जीवन बीमा कम्पनीहरुले मात्र बैदेशिक रोजगारमा जाने नेपाली नागरिकहरुको बीमा गर्दै आएका छन् । जसमा सन नेपाल लाइफ विगत केही वर्षदेखि नै अग्रस्थानमा रहेको छ । तर, गत आर्थिक वर्षको तुलनामा कम्पनीको उक्त व्यवसायमा पनि समान्य गिरावट आएको छ ।

बैदेशिक रोजगार (म्यादी) बीमा व्यवसाय विस्तारमा एशियन लाइफ, नेशनल र नेपाल लाइफले तीब्र रुपले विस्तार गरिरहेका छन् । यस अवधिमा एशियन लाइफले गत आर्थिक वर्षको तुलनामा यस्तो व्यापार १९१४ प्रतिशतले वृद्धि गर्दै एक करोड ३७ लाख रुपैयाँबाट २७ करोड ७० लाख रुपैयाँ पुर्याउन सफल भएको छ ।

गत आर्थिक वर्षको तुलनामा नेशनल लाइफ इन्स्योरेन्सको म्यादि बीमा व्यवसाय ९१ प्रतिशतले वृद्धि गर्न भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा १३ करोड २९ लाख रुपैयाँ आर्जन गरेकोमा यस अवधिमा २५ करोड ४२ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, नेपाल लाइफको म्यादि बीमा व्यवसाय ३९ प्रतिशत, रिलायबल नेपाल लाइफको ७ प्रतिशतले वृद्धि हुँदा अन्य ६ वटा कम्पनीको घट्न पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा केही जीवन बीमा कम्पनीहरुको यस्तो व्यवसाय १४ देखि ९१ प्रतिशतसम्म घटेको छ ।

कुल बीमा शुल्क आर्जनको आधारमा सन नेपाल लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको ११ महिनामा ७४ करोड ७९ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*