चुक्ता पूँजी नपुगेका चार बीमा कम्पनी हकप्रद शेयर स्वीकृतिको पर्खाइमा, कुनको कति?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्ष २०८०।८१ मा जीवन बीमा कम्पनीहरूलाई पाँच अर्ब र निर्जीवन बीमा कम्पनीहरूलाई दुई अर्ब ५० करोड चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको छ । प्राधिकरणको निर्देशन पश्चात् चुक्ता पूँजी नपुगेका दुई जीवन बीमा र दुई निर्जीवन बीमा कम्पनीले चुक्ता पूँजी पुर्याउनका लागि हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । जुन हाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेको छ र स्वीकृतिकै पर्खाइमा बसिरहेको छ ।
प्रभु महालक्ष्मी लाइफको चुक्ता पूँजी चार अर्ब २९ करोड ६० लाख रुपैयाँ रहेको छ । कम्पनीले पाँच अर्ब चुक्ता पूँजी पुर्याउन १ः०.१७ को अनुपातमा ७३ करोड तीन लाख २० हजार रुपैयाँबराबरको ७३ लाख तीन हजार २०० कित्ता हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा निवेदन दिएको छ ।
त्यसैगरी लाइफ इन्स्योरेन्स कर्पाेरेशनको चुक्तापूँजी दुई अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीले प्राधिकरणको निर्देशन बमोजिम पाँच अर्ब चुक्ता पूँजी पुर्याउन १ः०.८८४५१६८ को अनुपातमा दुई अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको २३ करोड ४६ लाख आठ हजार कित्ता हकप्रद निष्काशका लागि धितोपत्र बोर्डको स्वीकृति कुरेर बसिरहेको छ ।
त्यस्तै नेको इन्स्योरेन्स कम्पनीको हाल दुई अर्ब एक करोड २३ लाख ६० हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ । प्राधिकरणको निर्देशन बमोजिम दुई अर्ब ५० करोड चुक्ता पूँजी पुर्याउन यस कम्पनीले १ः०.२५ को अनुपातमा ५० करोड ९० लाख ९० हजार १५५ रुपैयाँबराबरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर निष्काशनको अनुमति माग गरेको छ ।
यता एनएजली इन्स्योरेन्सको हाल एक अर्ब ४५ करोड ९२ लाख ७५ हजार चुक्ता पूँजी रहेको छ । यस कम्पनीले निर्देशन बमोजिमको चुक्ता पूँजी पुर्याउन १०ः६.६ को अनुपातमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँको ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर निष्काशनको माग सहित बोर्डमा निवेदन दिएको छ ।
साथै यूनाइटेड अजोड इन्स्योरेन्सले पनि अपुग चुक्ता पूँजी पुर्याउनका लागि १५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त समेत गरिसकेको छ ।
One thought on “चुक्ता पूँजी नपुगेका चार बीमा कम्पनी हकप्रद शेयर स्वीकृतिको पर्खाइमा, कुनको कति?”