नेपाल–चीनबीचको सम्बन्ध थप कसिलो बनाउने सहमति
काठमाडौं । नेपाल र चीनबिचको सम्बन्धलाई सहकार्य र साझेदारीको आधारमा थप कसिलो बनाउने सहमति भएको छ । मङ्गलबार काठमाडौंमा बसेको परराष्ट्र मन्त्रालयस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठकमा आपसी हितका विषयलाई थप प्रवर्धन गर्दै पारस्परिक लाभ एवं आर्थिक अवसर प्राप्तिका लागि अग्रसर रहने प्रतिबद्धतासहितको सहमति भएको हो ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नेपालका परराष्ट्र सचिव सेवा लम्साल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनका उपविदेशमन्त्री सुन वेइजोङले गरेका थिए । बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धको समग्र पक्षको समीक्षा गर्नुका साथै विगतमा भएका सम्झौता र समझदारीपत्रको कार्यान्वयनमा भएको प्रगतिको समीक्षा भएको थियो । विगतमा भएका निर्णयको मूल्याङ्कन गर्दै बाँकी रहेका विषयको कार्यान्वयनमा जोड दिने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार दुई देशका प्रतिनिधिमण्डलले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तका बलियो आधार, पञ्चशील, आपसी विश्वास, सद्भाव र समझदारी नेपाल–चीन द्विपक्षीय सम्बन्धका प्रमुख विशेषता रहेको औँल्याउँदै यसैका आधारमा सम्बन्ध थप प्रगाढ बनाउने सहमति भएको छ ।
बैठकमा चीनका उपविदेशमन्त्री वेइजोङले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धताको सराहना गरे । द्विपक्षीय सम्बन्धलाई ऊर्जाशील बनाउन उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको परम्परालाई कायम राख्ने विषयमा पनि छलफल भएको छ । त्यसबाहेक सन् २०२५ लाई नेपाल भ्रमण वर्ष मनाउने सन्दर्भमा चीनमा नेपालको पर्यटन सम्भावना प्रवर्धनलगायत व्यापार, लगानी, पूर्वाधार विकास, सम्पर्क सञ्जालको विस्तार, कृषिलगायतका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपाय र उपायबारे छलफल भएको थियो ।
दुवै पक्षले सन् २०२५ मा नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सव विशेष कार्यक्रम र गतिविधिसाथ मनाउने निर्णयमा सहमति जनाएका छन् । त्यस्तै विद्यमान द्विपक्षीय संयन्त्रलाई थप सक्रिय बनाउन र परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगलगायत नयाँ संयन्त्र स्थापना गर्नुपर्नेमा जोड दिएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिव तथा पूर्वोत्तर एसिया महाशाखाका प्रमुख कृष्णप्रसाद ढकाल र नेपाल सरकारका सम्बन्धित मन्त्रालय तथा निकायका वरिष्ठ अधिकारी सहभागी रहेका थिए । त्यसै गरी चिनियाँ प्रतिनिधिमण्डलमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ र चीनको परराष्ट्र मन्त्रालय तथा काठमाडौँस्थित चिनियाँ दूतावासका वरिष्ठ अधिकारीको सहभागिता थियो ।