वर्ल्डलिंकको आम्दानीमा नयाँ उछाल, एक वर्षमा १० अर्ब ३३ करोडको व्यापार
काठमाडौँ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले व्यापारमा निरन्तर नयाँ फड्को हान्दै गएको छ । कम्पनीले सन् २०२३ मा १० अर्ब ३३ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो । जुन व्यापार सन् २०२२ को तुलनामा १०.०२ प्रतिशतले बढी हो । कम्पनीले सन् २०२२ मा ९ अर्ब ३९ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले सन् २०२१ मा ७ अर्ब ९५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको इक्रा नेपालले जनाएको छ । वर्ल्डलिंक कम्युनिकेसन्सको स्थापना सन् १९९६ जनवरी २१ मा एक निजी कम्पनीको रुपमा स्थापित भएको थियो । कम्पनी सन् २०१९ अप्रिल २४ पब्लिक लिमिटेडमा परिणत भएको हो । हाल यस कम्पनीमा वैदेशिक लगानी २ अर्ब ९८ करोड रुपैयाँ रहेको छ ।
हालदेशभर कम्पनीका १४० वटा शाखा कार्यालयहरु रहेका छन् । कम्पनीमा कुल ३ अर्ब ५० करोड रुपैयाँ बैंक कर्जाका लागि रेटिङ गराएको छ । जसमध्ये, लङ ट्रम २ अर्ब २९ करोड कर्जाका लागि ‘केयर एनपी ए’ र सर्ट ट्रम १ अर्ब २१ करोड रुपैयाँ बैंक कर्जाका लागि ‘केयर एनपी ए२ प्लस’ रेटिङ प्राप्त गरेको छ ।