एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी, आज बोर्ड बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गर्ने अन्तिम तयारी भएको छ । नतिजा सार्वजनिक निर्णयका लागि बोर्डको बैठक आज बस्दैछ ।
प्राविधिक कार्य नसकिएकाले आज नतिजा आउने सम्भावना नरहेको बोर्डले जनाएको छ । प्राविधिक काम नसकिएको र त्यो काम सम्पन्न भएको खण्डमा भोलि बिहान नतिजा प्रकाशन हुनेछ ।
बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६।२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात १० अंक ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रूपान्तरण गरिने छ ।
तर विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णाङ्कको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात २६।२५ अंक पाएको छैन भने प्रमाण पत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ र ग्रेड वृद्धि परीक्षा नदिइ कक्षा ११ मा पढ्न पाउने छैनन् । साथै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६।२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र नपाउने बोर्डले जनाएको छ । विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउनेछन् ।
२०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभिआरबाट प्रकाशित गर्ने भएको कार्यालयले जनाएको छ ।