एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने, कसरी हेर्ने ?
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबार (असार १३ गते) सम्म सार्वजनिक गर्ने तयारी गरेको छ । उत्तरपुस्तिका परीक्षण, अङ्कभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको हो ।
असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका भएपनि केहि दिन अघि नै सार्वजनिक गर्ने तयार बोर्डको रहेको छ । ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइ कार्यालयमा बाँकी काम भइरहेको छ ।
कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने छ । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने छ ।
२०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभिआरबाट प्रकाशित गर्ने भएको जनाएको हो ।