जलविद्युत क्षेत्रमा प्रवाह गएको अर्बौ रुपैयाँ ऋण जोखिममा छः पूर्व उपाध्यक्ष पौडेल

११ असार २०८१, मंगलवार १०:२७

काठमाडौं । नेपाली जलविद्युत क्षेत्रमा प्रवाह भएको ठूलो ऋण जोखिममा पर्नसक्ने चेतावनी अर्थविद तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेलले दिएका छन् ।

आज आयोजित मौद्रिक नीति समीक्षापूर्वको छलफल कार्यक्रममा पूर्व उपाध्यक्ष पौडेलले भने, ‘जलविद्युत क्षेत्रमा ठूलो मात्रामा प्रवाह भएको कर्जा नियमन गर्न सक्ने क्षमता बैंकहरुमा छ कि छैन ? मलाई थाहा छैन ।’ उपाध्यक्ष डा. पौडेलले केन्द्रीय बैंकले स्पष्ट नीति बनाएर मौद्रिक नीतिमा जलविद्युत क्षेत्रमा प्रवाह भएका कर्जाहरुको जोखिम मूल्याङकन गर्न सुझाव दिएका छन् । बैंकको नियमन क्षमता भन्दा बढि ऋण प्रवाह गर्न पाइने कि नपाइने भन्ने विषयमा आगामी दिनमा स्पष्ट हुनुपर्ने उनले बताए ।

मौद्रिक नीतिमाथिको छलफल कार्यक्रममा नेपालका औद्योगिक विकास निगम जस्ता पूर्वाधार बैंकको विगतको अभ्यास जस्तै आगामी दिनमा विशेष क्षेत्रगत बैंकहरुको आवश्यकता बढेर गएको बताए ।

आगामी मौद्रिक नीतिबारे छलफल कार्यक्रममा अर्थविद डा. पौडेलले घरजग्गा र शेयर बजार मात्रै खुकुलो बनाएर देशको अर्थतन्त्रमा सुधार नहुने बताउँदै उनले अर्थतन्त्र चलायमान बनाउने, कर्जा प्रवाह सहज हुने वातावरण सिर्जना गर्नुपर्ने औल्याए । उनले देशका ठूला ऋणीहरुको नियमन गर्न केन्द्रीय बैंक असफल भएको बताउँदै १५७ जना ऋणीहरुले अधिकांश ऋण उपयोग गरिरहेको बताए ।

केन्द्रीय बैंकले पुँजि बृद्धि गर्ने, मर्जर, सरकारी बैंक मर्जर जस्ता विषयहरु धेरै चलाइरहने विषय नभएको बताउँदै जबरजस्ती मर्जरमा लैजाँदा यसको गलत असर पर्नसक्नेतर्फ सचेत हुन आग्रह गरे । साथै उनले सरकारी बैंक मर्जरमा गर्ने विषय गलत भएको भन्दै त्यसको दायरा फराकिलो बनाउनुपर्ने र प्रभावकारी बनाउनुपर्ने बताए ।

पूर्वअर्थविद डा. पौडेलले अर्थतन्त्र संकटमा पर्दा देशमा सरकार र निजि क्षेत्र कोही पनि सुरक्षित हुन नसक्ने बताउँदै देशको अर्थतन्त्रको आगामी दिशाबारे सबै सचेत हुनुपर्ने बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*