सरकारी जागिर खान खोज्नेको संख्या घट्यो

९ असार २०८१, आईतवार १०:०८

काठमाडौं । गत आर्थिक वर्ष २०७९।८० को तुलनामा चालु आर्थिक वर्ष २०८०।८१ मा सरकारी जागिर खान खोज्नेको संख्या घटेको छ । लोकसेवा आयोगका अनुसार गत आवको भन्दा चालु आवमा परीक्षा दिनेको संख्या १० हजारले घटेको हो ।

लोकसेवा आयोगको अनुसार गत आवमा सरकारी जागिर खानका लागि चार लाख ८३ हजार २०३ जनाको आवेदन परेको थियो । चालु आवको असार ७ गतेसम्म आवेदन दिनेको संख्या चार लाख ७३ हजार मात्रै पुगेको छ । चालु आवका लागि अब फाराम खुल्ने सम्भावना निकै कम भएकाले यो संख्यानै चालु आवका लागि आवेदन दिनेको मोटामोटी संख्या हो ।

पछिल्लो समय युवायुवतीको आकर्षण सरकारी सेवामा भन्दा पनि वैदेशिक रोजगारमा धेरै रहेको पाइन्छ । त्यसका अतिरिक्त सरकारी सेवामा भन्दा निजी सेवामा पारिश्रमिक तथा सेवासुविधा धेरै हुनु, निजी स्तरमा रोजगारका अन्य क्षेत्रहरू स्थापना हुनुले पनि सरकारी जागिर खान चाहनेको संख्या घटेको बताइन्छ ।

तर आव २०७८।७९ मा भन्दा आव २०७९।८० मा भने सरकारी जागिर खान चाहनेको संख्या बढेको पाइएको थियो । आव २०७८।७९ मा तीन लाख ६५ हजार ४३४ जनाबाट सरकारी जागिरका लागि आवेदन परेको थियो । सो आवेदनभन्दा आव २०७९।८० मा परेको आवेदन ३२.२३ प्रतिशतले धेरै हो ।

लोकसेवा आयोगका अनुसार पछिल्लो १० वर्षको तुलनामा हेर्ने हो भने आव २०७५।७६ मा सबैभन्दा कम एक लाख ४३ हजार ७५३ जनाको दरखास्त परेको थियो । सोही अवधिमा आव २०७३।७४ मा सबैभन्दा बढी आठ लाख ४४ हजार २९७ जनाको दरखास्त परेको थियो ।

आव २०७९।८० मा आवेदन दिएका चार लाख ८३ हजार २०३ जनामध्ये तीन हजार ६७५ जना उम्मेदवार मात्र स्थायी नियुक्तिका लागि सिफारिस भएका थिए । त्यसमा दुई हजार ५७३ जना पुरुष र एक हजार ९९ जना महिला छन् । आयोगले लिने परीक्षामध्ये अप्राविधिक खरिदारमा सबैभन्दा बढी आवेदन पर्ने गरेको पाइन्छ । त्यसपछि अप्राविधिक नायब सुब्बा, अप्राविधिक शाखा अधिकृत र अप्राविधिक उपसचिव पदमा धरै आवेदन पर्ने पाइएको छ ।

आयोगको ६३ औं र ६४ औं वार्षिक प्रतिवेदन हेर्ने हो भने कर्णाली प्रदेशवासीमा सरकारी जागिरको चाहना बढेको देखिन्छ । आव २०७८।७९ मा कुल तीन लाख ६५ हजार ४३४ जनामध्ये ३३ हजार ४९४ जना कर्णाली प्रदेशवासी रहेका थिए जुन संख्या ९.१ प्रतिशत हो । आव २०७९।८० मा परेको चार लाख ८३ हजार २०३ कुल आवेदनमध्ये ६४ हजार २९० आवेदन कर्णाली प्रदेशवासीको रहेको थियो जुन १३.३० प्रतिशत हुन आउँछ ।

मधेश प्रदेशमा आयोगमा फाराम भर्नेको संख्या एक वर्षको तुलनामा थोरै घटेको छ । आव २०७९।८० मा तीन लाख ६५ हजार ४३४ जनामध्ये ९३ हजार ५४५ जना मधेश प्रदेशवासी रहेका छन् जुन २५.६० प्रतिशत हुन आउँछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*