लाइफ कम्प्युटरले छैटौं सिजनको ‘वेबसाइट कम्पिटिसन’ गर्दै, आईटी विज्ञ जन्माउनु हाम्रो उद्देश्य हो : अध्यक्ष पोखरेल

७ असार २०८१, शुक्रबार १५:३५

काठमाडौं– लाइफ कम्प्युटरले छैटौं सिजनको ‘वेबसाइट कम्पिटिसन’ गर्ने भएको छ । २०७४ सालदेखि एसईई दिएर बसेका विद्यार्थीको सहभागितामा गरिँदै आएको वेबसाइट कम्पिटिसन–६ को विजेता घोषणा कार्यक्रम असार ९ गते नाचघर जमलमा गर्न लागिएको संस्थाका अध्यक्ष रमेश पोखरेलले जानकारी दिए ।

आईटी ट्रेनिङको क्षेत्रमा क्रियाशिल संस्थाले एक दशकभन्दा लामो समयदेखि हजारौं विद्यार्थीलाई यस क्षेत्रमा लाग्न प्रेरणा दिँदै आएको अध्यक्ष पोखरेलले जानकारी दिए । ‘लाइफ कम्प्युटरले राज्यको नीति नै प्रविधिमैत्री बन्नुपर्ने र नेपाल आईटी हबको रूपमा स्थापित हुनुपर्ने मान्यता राख्छ । संस्थाका हरेक गतिविधि यसैतर्फ केन्द्रीत छन् । ‘वेबसाइट कम्पिटिसन’ पनि यसकै प्रयास हो,’ उनले भने ।

स्थापनाकालदेखि नै सूचना प्रविधि (आईटी)को क्षेत्रको सुधारको लागि विभिन्न काम गर्दै आएको र हामीले अहिलेको पुस्तालाई सूचना प्रविधिको क्षेत्रमा अब्बल बनाउनको लागि विद्यालयदेखि नै सक्रिय बनाउनुपर्छ भन्ने मान्यताका  मान्यताका साथ  वेबसाइट कम्पिटिसनको अवधारणा ल्याएको उनको भनाइ छ । ‘सूचना प्रविधिको विकासलाई हेर्दा अहिलेको समय आर्टिफिसियल इन्टेलेजेन्स (एआई)को हो । विद्यार्थीहरूले कम्तिमा कोडिङसम्बन्धी जानकारी राख्नुपर्छ भन्ने उद्देश्यले वेबसाइट डिजाइनमा हामीले जोड दिँदै आएका छौं, ’ उनले भने, ‘विद्यालयस्तरमा यस विषयमा अध्ययन नगरेको भएपनि विद्यार्थीको स्वाभाव जिज्ञासु हुने हुनाले एसईई पछिको तीन महिनामा प्रतियोगितामा सहभागी हुनकै लागि पनि यस विषयमा तयारी गर्छन् र जानकारी हासिल गर्छन् भन्ने मान्यता यो प्रतियोगिताले राख्छ ।’

यसवर्ष देशभरका ११०२ जना प्रतियोगी प्रतिस्पर्धामा भाग लिएको उनले बताए । प्रतियोगीहरूलाई जेठको अन्तिमसम्मको लागि समयसीमा दिइएको र उक्त समयावधिमा विद्यार्थीले आफ्नो प्रोजेक्ट बुझाएको उनको भनाइ छ । ‘विज्ञहरुको सहायतामा ती प्रोजेक्टमध्ये उत्कृष्ट २० लाई छनोट गरिएको छ । उत्कृष्ट २० जनाका वेबसाइटलाई परिमार्जन गर्न समय दिएर उत्कृष्ट २० मध्येबाट आईटी विज्ञको सहभागितामा उत्कृष्ट १० हुँदै पहिलो, दोस्रो र तेस्रो छान्ने प्रकृया छ,’ उनले भने ।

विद्यार्थी स्वयमले बनाएको सुनिश्चित भएपछि मात्र उनीहरू थप प्रक्रियाको लागि योग्य हुने उनको भनाइ छ । उनले भने, ‘ मूल्यांकनको आधार बनाउँदा डिजाइन, फोल्डर म्यानेज, कलर तथा ब्राण्डिङ, लोगो र टेक्स्ट, प्रोग्रामिङ, टिचर गाइडेन्स, व्यवस्थापन, आईटी टिमको अब्जरभेसन, प्रिजेन्टेसन लगायतलाई समेटिन्छ ।’

विगतका सिजनका विजेताले सूचना प्रविधिको क्षेत्रमा अध्ययन अगाडि बढाउँदै धेरै राम्रो काम गर्दै आएको उनले बताए । ‘ हाम्रो संस्थाको उद्देश्य आईटी क्षेत्रका विज्ञ जन्माउने हो, अवसर पाए नेपालमा पनि विल गेट्स, स्टेभ जब्स, मार्क जुकरवर्कस् जन्माउन सकिन्छ भन्ने अभिलाशा संस्थाले बोकेको छ । विश्वस्तरमा नेपाललाई आईटी हबको रूपमा स्थापित गराउनको लागि सामान्य भएपनि भूमिका निर्वाह गर्ने हामीले उद्देश्य राखेका छौं । लाइफ कम्प्युटर यस क्षेत्रमा केही गर्न चाहनेको लागि राम्रो प्लेटफर्म बन्न चाहान्छ । राज्यको आवश्यक सहयोग भएको अवस्थामा सूचना प्रविधिकोे ज्ञानलाई गाउँ गाउँसम्म पुर्याउने हाम्रो लक्ष्य छ ।,’ अध्यक्ष पोखरेलले भने ।

सहभागी छनोट गर्दा हामीले जतिसक्दो धेरै सहभागी गराउने योजनामा हुने उनको भनाइ छ । उनले भने, ‘पहिलो सिजनमा काठमाडौं उपत्यका विद्यार्थीमात्र सहभागी थिए । पहिलो सिजनामा ४२७ जना सहभागी भएका थिए, दास्रो सिजनमा ७००, तेस्रो सिजनमा १२७५, चौथो सिजनमा ८४०, पाँचौंमा ९७५ र छैटौंमा ११०२ जना प्रतिस्पर्धामा सहभागी छन् ।’

संस्थाले एसईई दिएका विद्यार्थीमात्र नभई अध्ययन गर्ने सबै विद्यार्थीलाई उनीहरूको सीप तथा क्षमताका आधारमा काममा जोडिने वातावरण पनि बनाउँदै आएको उनले जानकारी दिए । उनले भने, ‘अन्य कलेजमा आईटीसम्बन्धी अध्ययन गरेका विद्यार्थीलाई इन्टर्नसीपको व्यवस्था पनि गरेका छौं । अहिलेसम्म हामीले तयार गरेका विद्यार्थी व्यवसाय, आईटीसम्बन्धी जागिरमा समेत रहेर राम्रो काम गर्दै आउनुभएको छ ।’

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*