करको त्रासले विद्युतीय सवारी आयातमा नयाँ रेकर्ड, जेठ महिनामा भित्रिए साढे सात अर्बका तीन हजार गाडी
काठमाडौँ । विद्युतीय सवारी (ईभी) को आयात ह्वात्तै बढेको छ । सरकारले जेठ १५ गते बजेट ल्याइसकेको छ। बजेट मार्फत कर बढ्ने त्रासले ईभी गाडिको आयात निकै उच्च भएको हो । भन्सार विभागका अनुसार जेठ महिनामा मात्र ७ अर्ब ८८ करोड ५ लाख ६१ हजार रुपैयाँ बराबरको २ हजार ९६५ वटा ईभी गाडि नेपाल आएका हुन् । जुन बैशाख महिनाको तुलनामा २.१८ गुणाले बढी हो । बैशाखमा भने महिनामा मात्र नेपालमा १ हजार ३५५ वटा ईभी गाडि भित्रिएका थिए ।
ईभीमय वातावरण बन्दै जाँदा आयातमा समेत निरन्तर बढी रहेको हो । ईभीमा सार्वजनिक अथवा यात्रु बोक्ने ठुला विद्युतीय देखि स्कुटरका ब्रान्ड नेपाल भित्रिएका छन् । पछिल्लो समय नेपाली अटोबजार पनि ईभीले भरिन थालेको छ । इन्धनका ब्यवसाय खस्किदा ईभी गाडिमा भने ग्राहकहरुको नजर पर्ने थालेको हो ।
चालु आर्थिक वर्षको ११ महिनामा २८ अर्ब ७९ करोड १७ लाख २३ हजार रुपैयाँको ११ हजार ४३८ वटा ईभी गाडि नेपाल आएका हुन् । गत आर्थिक वर्षको तुलनामा ईभी आयात तीन गुणाले बढेको हो । गत आर्थिक वर्षको ११ महिनामा ७ अर्ब ६६ करोड ९२ लाखद ३४ हजार रुपैयाँ बराबरको ३ हजार ८६८ वटा ईभी गाडि भित्रिएका थिए ।
ईभी आयातबाट राज्यले मनग्य राजस्व संकलन गरेको छ । जेठ मसान्तसम्ममा ईभी आयातबाट राज्यले १२ अर्ब ७६ करोड ३७ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको ११ महिनामा भने राज्यले २ अर्ब १८ करोड ६२ लाख ७६ हजार रुपैयाँको राजस्व संकलन गरेको थियो ।
चालु आर्थिक वर्षको ११ महिनामा सबैभन्दा बढी ईभी गाडि आयात बैशाख महिनामा नै भएको भन्सार विभागले जनाएको छ । सो पश्चात पुसमा महिनामा १ हजार ४२१ वटा ईभि गाडी नेपाल आएका हुन् । असोजमा पनि १ हजार २३७ वटा ईभि गाडी नेपाल आएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । माघ महिनामा १ हजार ५२ वटा, मङ्सिरमा ८९९ वटा, कात्तिकमा ६५२ वटा, भदौमा ७८८ वटा र साउनमा ११० वटा र फागुन २७६ ईभी गाडी नेपाल आएका छन् ।
कस्ता गाडि रुचाउँछन् नेपाली ?
नेपाली अटो बजारमा ग्राहकहरुले ५० किलोवाटदेखि १०० किलोवाटका गाडि सबैभन्दा बढी रुचाईएको पाइएको छ । यसअवधिसम्ममा सो किलोवाटका ६ हजार ८८५ ईभी गाडि नेपाल आएका हुन् ।
नेपाली बजारमा चिनियाँ गाडिको दबदबाब भएको देखिन्छ । नेपाल आयात हुने ईभी गाडिमा चिनबाट करिब ७५ प्रतिशत रहेका छन् । नेपालमा विक्री हुने गाडी मध्ये, बीवाइडी, नेटा, एमजी, सेरेस, ओरा, चिनियाँ ब्रान्ड हुन् ।
त्यस्तै टाटा, हुन्डाइ, महिन्द्रा, कियालगायत भारतबाट आउने गरेका छन् । नेपालमा छिमेकी मुलुक चीन, भारत, कोरिया, जर्मन, अमेरिका र इन्डोनेसिया लगायतका मुलुकहरूबाट विद्युतीय गाडी आयात हुने गरेको छ । नेपालमा ५० किलोवाटदेखि ३०० किलोवाट तौल क्षमताका ईभि आयात हुँदै आएका छन् ।
कर बढ्ने त्रासले बढ्यो ईभीको आयात
जेठ महिनामा बजेट मार्फत भन्सार दर र अन्तःशुल्क बढ्ने करले ब्यवसायीहरु ईभी गाडि आयातमा झुम्मिएको पाइएको छ । विद्युतीय सवारी साधनको आयातमा प्रोत्साहन गर्ने नीतिसहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १०० किलोवाटभन्दा माथिका सवारी साधनको आयातमा भन्सार दर र अन्तःशुल्क घटाएको थियो । सो पश्चात् नेपाली बजारमा निरन्तर इभी भित्रिने क्रम जारी रहेको थियो । तर, बजेट मार्फत ईभी गाडिमा कर बढ्ने संकेत सरकारले अघि देखिनै संकेत गरेपछि ब्यवसायी आयात तिर झुम्मिएका हुन् ।
अबको बजेट मार्फत कर बढ्ने सङ्केतले बजेट आउनु अघि नै ईभी गाडि आयात उच्च वृद्धि भएको एक व्यवसायीले बताए । उनले भने, ‘ईभीको छुटले अर्बौँ राजस्व घाटा लागेको सरकारी तहका व्यक्तिले सार्वजनिक कार्यक्रममा नै बोल्दै आइरहेका थिए । बजेट मार्फत बढ्न पक्का पक्की नै थियो । सोहि कारण ब्यवसायी करको त्रासले जेठ १५ गतेअघि नै ईभी गाडि आयात तिर लागेका हुन् ।’
‘राजस्व वृद्धि हुने त्रासले बेच्नेहरूलाई समेत अहिल्यै ल्याएर राख्न सके राम्रो हुने भन्ने फाइदाको लोभ हुन्छ । त्यसैले पनि आयात वृद्धि भएको हो । अब २।३ महिना यता ईभी गाडि आयात निकै कम हुने छ’ उनले भने ।
विद्युतीय सवारीमा आम उपभोक्ताको बढ्दो आकर्षणका कारण पुराना पेट्रोल र डीजल इन्जिन भएका गाडीहरूको माग व्यापक रूपमा घटेको छ । तर, अब भने इन्धन गाडि बिक्रेता खुसी भएका छन् । ईभी गाडिमा कर बढेसँगै अब इन्धनको गाडिमा समेत ग्राहकहरुको नजर जाने विश्वास गरीएको छ ।