बीमा प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति प्रकृयामा अध्यक्ष र बोर्डका पदाधिकारीबीच दुईमत

७ असार २०८१, शुक्रबार १४:२५

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक कसलाई नियुक्त गर्ने भन्ने बिषय यतिबेला बोर्डका पदाधिकारी र अध्यक्षबीच दुईमत देखिएको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल प्राधिकरणको इतिहासमा पहिलो पटक महिलालाई नेतृत्व दिने पक्षमा छन् । बोर्डका अन्य सदस्यहरु कर्मचारीहरुको योग्यता, कार्यदक्षताको आधारमा परिक्षा विधिद्धारा कार्यकारी निर्देशक बनाउनु पर्ने धारणा राख्दै आएका छन् ।

प्राधिकरण अध्यक्ष सिलवाल र बोर्डका पदाधिकारीबीच यो बिषयले टुंगो पाउन नसक्दा प्रत्येक बैठकको एजेण्डा मात्रै बन्न पुगेको छ । बीमा प्राधिकरणको बोर्डको बैठकमा कार्यकारी निर्देशकको बिषय उठान हुने वित्तिकै मतभेद हुने गरेकोछ । जसका कारण अध्यक्ष सिलवाललाई निर्णय गर्न अप्ठेरो परिरहेको छ ।

अध्यक्ष सिलवालले बोर्डको बैठकमा बीमा प्राधिकरणमा महिला नेतृत्वको खाँचो भएको र पूजन ढुङ्गेल यो पदका लागि योग्य छिन् भन्ने प्रस्ताव राखेका थिए । सञ्चालक समितिको बैठकमा बोर्डका पदाधिकारीहरुले अन्य कर्मचारीचाँहि योग्य नभएको हो भन्ने प्रश्न उठाएका थिए । सोही कारण निर्णय हुन सकेको छैन ।

अहिले बीमा प्राधिकरणको कार्यकारी निर्देशकका लागि दुई जना प्रत्यक्ष आकांक्षी छन् भने एक जना अप्रत्यक्ष रुपमा आकांक्षा देखाइरहेका छन् । त्यसमध्ये वरिष्ठतम निर्देशकमा कमलप्रसाद रेग्मी रहेका छन् । उनी कार्यकारी निर्देशक नियुक्त भएको करिब आठ वर्ष पुरा भई नौ वर्ष पुग्नै लागेको अवस्था छ । पुजन ढुंगेल पनि पाँच वर्ष पुग्नै लागेको छ । ढुंगेल महिना भएकोले चार वर्ष पुरा गरेपछि कार्यकारी निर्देशक बन्न योग्य भइसकेकी छिन् । त्यस्तै, पाँच वर्ष पुग्न केही महिना बाँकी रहेका सुशिल सुवेदी पनि आकांक्षी देखिएका छन् ।

प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त हुन पुरुष कर्मचारी नियुक्त भएको ५ वर्ष र महिला कर्मचारीलाई ४ वर्ष निर्देशक भएको हुनुपर्ने व्यवस्था कर्मचारी नियमावलीमा छ ।
अहिले प्राधिकरणमा अध्यक्ष सूर्यप्रसाद सिलवालको पहिलो रोजाइ सुशीलदेव र पुजन ढुंगेल रहेको छ । तर दुबैलाई कार्यकारी निर्देशक नियुक्ति गर्न कानूनी जटिलता छ । कमलप्रसादसँग अध्यक्ष सिललवालको ‘ट्युनिङ’ खासै नमिलेका कारण विकल्प खोजिरहेका देखिन्छ ।

नियुक्तिपछि काम गर्न अप्ठ्यारो हुने भन्दै उनले रेग्मीको विकल्पका लागि पृष्ठभूमि तयार गरिरहको बताइन्छ । कर्मचारी नियमावली संशोधनका लागि मन्त्रालय मात्रै नभएर लोकसेवा आयोगको समेत सिफारिस चाहिने भएकोले तत्कालै त्यो सम्भव छैन ।

कतिपय लाइसेन्स ज्यादै विवादितसमेत थिए । यस्तो आँट पुजनले गर्नसक्नेमा सिलवाल विश्वस्त छैनन् । यही अन्योलबीच अहिले प्राधिकरणको कार्यकारी निर्देशक रिक्त राखिएको छ । कार्यकारी निर्देशक रिक्त भएको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत चासो राखिसकेको छ ।
कार्यकारी निर्देशक राजुरमण पौडेलको कार्यकाल गत जेठ १२ गते सकिएसँगै यतिबेला उक्त पद खाली भएको हो ।

कर्मचारीहरुमध्येको सबैभन्दा उपल्लो पदको रुपमा रहेको र एकमात्रै दरबन्दी रहेको उक्त पद नहुँदा अहिले प्राधिकरणमा दैनिक कार्यहरुसमेत प्रभावित हुँदै गइरहेका छन् । अहिलेसम्म कसैलाई पनि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी समेत दिइएको छैन ।

प्राधिकरणमा कार्यकारी निर्देशक पदको नियुक्ति बोर्डले गर्छ । राजुरमण पौडेलभन्दा अघिका कार्यकारी निर्देशक श्रीमान कार्कीको अवधि सकिएपछि तत्कालिन अध्यक्ष चिरञ्जीवी चापागाईंले राजुरमणलाई वरिष्ठताको आधारमा निमित्तको जिम्मेवारी दिएका थिए । प्राधिकरणमा अहिले निमित्तको जिम्मेवारी समेत दिइएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*